काठमाडौं । सर्बियाको बेलग्रेडमा आयोजना हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका छन्।
नेपाल बक्सिङ संघले च्याम्पियनसिप खेल्ने नेपाली टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको जनाएको छ ।
विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । च्याम्पियनसिप अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म हुनेछ । च्याम्पियनसिपमा विश्वका १०५ राष्ट्रको १३ वटा तौल समूहमा ६५० जना खेलाडीहरुको सहभागीता रहेको छ ।
नेपालका रविन थापाले ४८ केजीमा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भुपेन्द्र थापा मगरले प्रतिस्पर्धा गर्ने छन् । सनिल र भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।
नेपाली टोलीको प्रमुख प्रशिक्षकमा प्रकाश थापामगर प्रशिक्षक किशोर लिम्बु र अफिसीयल्समा नेपाल बक्सिङ्ग संघ सदस्य मान बहादुर भण्डारी र प्रनिर अधिकारी रहेका छन् ।
नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो ।
नेपाली टोलीलाई शुक्रबार युवा तथा खेलकुद मन्त्री माननीय महेश्वरजंग गहतराजले बिदाइ गरेका थिए ।