काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने नेपाली टोलीलाई बिहीबार खेल पोशाक हस्तान्तरण तथा बिदाइ गर्ने कार्यक्रम राखेको थियो ।
तर, सर्बियाको बेलग्रेडमा आयोजना हुने च्याम्पियनसिप खेल्ने नेपाली टोली नै बिदाइ कार्यक्रममा उपस्थित भएनन् ।
नेपाल बक्सिङ संघलाई पत्राचार गरेर कार्यक्रमबारे जानकारी गराएको भएपनि खेलाडीहरुको उपस्थिती नभएको हो ।
बिदाइ कार्यक्रममा खेलाडी उपस्थित नभएपछि नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशका अध्यक्ष दीपक गुरुङले बक्सिङ संघले खेल भावनाविरुद्ध कार्य गरेको भन्दै घोर आपत्ती जनाए । उनले यस्ता कार्यकाविरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दै कार्यवाहीको लागि अग्रसर रहने बताए ।
उनले आफु पनि नेपाल बक्सिङ संघको पूर्व महासचिव भएको भन्दै संघले खेलाडीहरुलाई राजनीतिमा मुछेको र संघले विधान विपरित कार्यहरु गरेका कारण संघका पदाधिकारीहरु विच पनि बैमनस्यता देखिएको बताए ।
यस्तै अध्यक्ष गुरुङले लोकतान्त्रिक खेलकुद संघ संधै खेलाडीहरुको पक्षमा रहेको र खेलाडीहरुको हक अधिकारका लागि सदा अग्रस्थानमा रहने भन्दै उच्च मनोबलका साथ खेल प्रदर्शन गर्दै जित हात पार्न शुभकामना ब्यक्त गरे ।
उनले खेलाडीहरुको मनोबल उच्च राख्नका लागि विविध नगदको घोषणा समेत गरे । जस्तै प्रत्येक बाउट जिते बापत २५ हजार, स्वर्ण प्राप्त गरेका १ लाख ५० हजार, रजतका लागि १ लाख र कास्य पदक प्राप्त गरेमा ५० हजार प्रदान गर्ने घोषणा समेत गरे ।
कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष राजीव श्रेष्ठले खेलकुद जस्तो स्वच्छ छवी भएको ठाउँलाई अहिलेको कार्यसमितिले घरायसी संघको रुपमा संचालन गरेको र संघलाई खेल भावनाले अगाडी बढाउन नसकेकोमा आपत्ती जनाए ।
खेलाडीहरु अनुपस्थिती भएपछि संघले च्याम्पियनसिपमा सहभागिता जनाउने ४ खेलाडी, प्रशिक्षकका लागि प्रदान गर्न लागिएको खेल पोशाक (ट्रायकसुट) संघका केन्द्रिय सदस्य ओम नारायण श्रेष्ठ मार्फत खेलाडीहरुलाई हस्तान्तरण गरे ।
विश्व च्याम्पियनसिपमा नेपालका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। च्याम्पियनसिप अक्टोबर २५ देखि नोभेम्बर ६ सम्म हुनेछ ।
च्याम्पियनसिपमा नेपालका रविन थापाले ४८ केजीमा, ५७ केजीमा पुरन राई, ६७ केजीमा सनिल शाही र ६३.५ केजीमा भुपेन्द्र थापा मगरले प्रतिस्पर्धा गर्ने छन् । सनिल र भुपेन्द्र १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् ।
नेपाल बक्सिङ संघले असोज १ देखि ४ गतेसम्म सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा खुला छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो ।