साफको फाइनल पुगेको फुटबल टोलीलाई राष्ट्रपतिको बधाई

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बधाई दिएकी छिन् ।
सामाजिक संजाल ट्वीटरबाट बिहीबार राष्ट्रपति भण्डारीले साफको फाइनल पुगेर राष्ट्रिय गौरव हासिल गरेको उल्लेख गर्दै नेपाली टोलीलाई बधाई दिएकी हुन् ।
'साफ फुटबल प्रतियोगिताको इतिहासमा प्रथम पटक फाइनलमा पुगेर राष्ट्रिय गौरव हासिल गर्न सफल नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी‚ प्रशिक्षक तथा पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै फाइनल प्रतिस्पर्धामा समेत सफलताको लागि अग्रिम शुभकामना दिन चाहन्छु,' ट्वीटरमा भनिएको छ ।
मालेमा बुधबार बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनल पुगेको थियो ।
नेपाल पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन ।
अब नेपालले फाइनलमा भारतसँग प्रतिस्पर्धा गर्नेछ ।