काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिप फुटबलमा पहिलो पटक फाइनल पुगेको राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् ।
बुधबार बंगलादेशलाई बराबरीमा रोक्दै फाइनल पुगेको नेपाली टिमलाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।
उनले भनेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टिमका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि सभेच्छा सहित प्रोत्साहन दिन चाहन्छु ।’
साफमा दुई जित र एक बराबरीको नतिजा सहित नेपाल फाइनल पुगेको छ । साफको इतिहासमा नेपाल पहिलो पटक फाइनल पुगेको हो ।
मालेमा बंगलादेशको सुरुवाती अग्रतालार्ई रोक्दै नेपाल फाइनल पुग्यो । नेपालका लागि अन्जन विष्टले पेनाल्टीमा बराबरी गोल फर्काए ।
खेलमा अग्रता बंगलादेशले सुमन रेजाको गोलमा नवौं मिनेटमा लगेको थियो ।
बंगलादेशसँगको बराबरीसँगै नेपालले ४ खेलमा ७ अंक जोड्यो । नेपाल शीर्ष स्थानमा यथावत रहेको छ ।
बंगलादेश ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।