काठमाडौं । बेलायती बक्सर टाइसन फुरीले डियोन्टे वाइल्डरलाई पराजित गर्दै डब्लुबीसी विश्व हेविवेटको उपाधि जोगाएका छन् ।
अमेरिकाको लास भेगासमा आइतबार भएको फाइटमा टाइसनले डियोन्टेलाई ११ औं चरणमा नकआउट गरेका थिए । यससँगै टाइसन व्यावसायिक रुपमा ३२ औं फाइटसम्म अपराजित रहेका छन् ।
जितपछि टाइसनले डियोन्टे बलियो रहेको र उनी आफूमाथि कयौं पटक हावी भएको प्रतिक्रिया दिए ।
यो एक ठूलो फाइट भएको तथा डियोन्टे उच्चकोटीको फाइटर रहेको बताउदै टाइसनले आफू विश्वको एक नम्बर फाईटर तथा डियोन्टे दोस्रो नम्बरको फाईटर रहेको प्रतिक्रिया दिए ।
यस अघि फुरी र वाइल्डरबीचको भिडन्त जुलाई २४ मा तय भएको थियो । तर, फुरीलाई कोरोना भाईरसको संक्रमण देखिएपछि प्रतिस्पर्धा सारिएको थियो ।
सन् २०२० को फेब्रुअरीमा फुरीले अमेरिकी बक्सर वाइल्डरलाई हराएर डब्लुबीसी च्याम्पियन बनेका थिए ।