काठमाडौं । शारीरिक सुगठन खेलका अग्रजलाई शनिबार सम्मानित गरिएको छ ।
नेपाली शारीरिक सुगठन खेल पिता तथा अमर शहीद धर्मभक्त माथेमाको जन्मदिन पारेर काठमाडौंमा यस खेलका अग्रजलाई सम्मानित गरिएको हो ।
प्रथम राष्ट्रिय शारीरिक सुगठन तथा शक्तितोलन दिवस २०७८ को अवसर पारेर व्यायाम व्यवसायी संघ काठमाण्डौँले शारीरिक सुगठन खेलको उत्थानमा निरन्तर लागि रहेका नेपालका अग्रज खेलाडी शिवलाल श्रेष्ठ, निर्णयक गोविन्द चित्रकार तथा खेल फोटोग्राफर श्याम चित्रकारलाई सम्मान गरेको हो ।
पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठले शारीरिक सुगठन खेलका अग्रजलाई सम्मानित गरे ।
कार्यक्रममा पूर्व अतिरिक्त प्रहरी महानिर्देशक विजयलाल कायस्थ, नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका महासचिव राजन श्रेष्ठ, नेपाल भारत्तोलन सङ्घका सचिव कुमार श्रेष्ठ, भक्तपुर शारीरिक सुगठन सघका अध्यक्ष बाबुकाजी मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री श्रेष्ठले पुराना अग्रज पुस्ताको सम्मान कार्यक्रमबाट खेलको माध्यमबाट राष्ट्रको लागि केही योगदान गरौ भन्ने भावना हरेक खेलाडीमा जागृत हुने विश्वास ब्यक्त गरे ।
सम्मानित अग्रज ब्यक्तित्व तथा प्रथम मिष्टर नेपाल शिबलाल श्रेष्ठले यस प्रकारको कार्यक्रम निरन्तर रुपमा आयोजना गर्न र ओझलमा परेका अन्य अग्रज पुस्ताका खेलाडीलाई अगाडी ल्याएर सम्मान दिन सुझाव दिए ।
व्यायाम व्यवसायी संघ काठमाण्डौँका सचिव जगन्नाथ अधिकारीले नयाँ पुस्ताले बिर्सिन लागेका शारीरिक सुगठन खेलमा महत्वपूर्ण योगदान पुर्याउने अग्रज ब्यक्तिलाई संघले हरेक बर्ष सम्मान गर्ने जानकारी गराए ।
सम्मान छनौट समितिका संयोजक बुद्धि जंग कार्कीले नेपाल शारीरिक सुगठन खेलको इतिहास खोजकर्ता तथा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठसंग बिशेष सुझाव लिनुका साथै बिभिन्न ब्यक्तिसंग सल्लाह र सुझाव लिएर अग्रज व्यक्तित्वको छनौट गरेको जानकारी गराएका थिए ।