काठमाडौं । जर्मनीमा आयोजना भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन सम्मानित भएका छन् ।
एनआरएनए एलसीसी साल्जवर्गले स्वर्णधारी श्रेष्ठ र महर्जनलाई बिहीबार सम्मान गरेको हो ।
संघका अध्यक्ष शिव खड्का, अस्ट्रियाका आईसीसी सदस्य विकास कार्की, एलसीसी साल्जवर्गका संरक्षक तथा संघका सदस्यहरुले श्रेष्ठ र महर्जनलाई सम्मान गरेको हो ।
जर्मनीको चिम्निजमा नेपालका मन्देकाजी श्रेष्ठले दुई स्वर्ण पदक जितेका थिए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी उनले सिनियर एकल काता र ३० वर्ष माथिको उमेर समूहको एकल कातामा स्वर्ण जितेका हुन् ।
यस्तै सागका पदकधारी मुकुन्द्र महर्जनले ३० वर्ष माथिको उमेर समूहमा स्वर्ण जिते । ७५ केजी तौल समूहमा उनले कास्य पदक जितेका थिए ।
प्रतियोगितामा जर्मनी, पोल्याण्ड, अष्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम लगायतका देशको सहभागिता रहेको थियो ।