काठमाडौं । दोस्रो प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुल्ला बक्सिङ प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ ।
नेपाल बक्सिङ संघले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता कात्तिक २९ गतेबाट मंसिर ३ गतेसम्म संचालन हुने जनाएको छ ।
प्रकाश दाहाल स्मृति प्रतिष्ठानसँगको सहकार्यमा हुने प्रतियोगिता आईबाको नियम अनुसार खेलाईनेछ ।
पुरुषतर्फ ४८ केजी, ५१ केजी, ५४ केजी, ५७ केजी,६० केजी, ६३.५ केजी, ६७ केजी, ७१ केजी, ७५ केजी, ८० केजी, ८६ केजी, ९२ केजी र ९२ केजी माथिको तौल समूहमा स्पर्धामा प्रतिस्पर्धा हुने छ ।
महिलातर्फ ४८ केजी, ५०केजी, ५२ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी र ६६ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा हुने प्रतियोगिताको सम्पूर्ण तौल समूहको विजेतालाई १० हजार नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
यस्तै प्रतियोगिताको उत्कृष्ट महिला र पुरुष खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने बताईएको छ ।
यस प्रतियोगितालाई बक्सिङ संघले अन्तराष्ट्रिय प्रतियोगिताको छनोटको रुपमा समेत लिएको छ ।