काठमाडौं । माल्दिभ्समा आयोजित साफ फुटबलमा नेपालले पहिलो खेल घरेलु टोलीविरुद्ध खेलेको थियो । खेलको प्रत्यक्ष प्रशारण नहुँदा अखिल नेपाल फुटबल संघ एन्फा लगायतको चर्को आलोचना भएको थियो ।
माल्दिभ्स फुटबल संघले प्रत्यक्ष प्रशारणका लागि ४० हजार डलर माग गरेको थियो । तर एन्फाले सार्वजनिक रुपमा आह्वान गरेको टेण्डरमा कुनैपनि कम्पनी सहभागी भएनन् ।
माल्दिभ्स एफएले निर्धारण गरेको ४० हजार डलर निकै महङ्गो रहेको स्वयम एन्फाको समेत बुझाई थियो । कोभिडबाट भर्खरै उठ्न थालेको बिज्ञापन बजार समेत त्यसका लागि तयार थिएन ।
नेपालले खेल्ने निश्चित भएको कम्तिमा ४ खेलका लागि ४० हजार डलर हाल्न कोही पनि सञ्चार संस्था र बिज्ञापन एजेन्सी तयार भएनन् ।
आफ्नै देशको फुटबल हेर्न नपाएपछि दर्शक तथा फुटबल समर्थकले एन्फा र नेतृत्वको सार्वजनिक रुपमा आलोचना गरेका थिए ।
सबैको चासो थियो, नेपालको खेल कसरी हेर्ने ?
कुनै कम्पनी तयारी नभएपछि सम्बन्धित देशको खेल निशुल्क हेर्न दिन एन्फाले साफ र माल्दिभ्स एफएलाई आग्रह गरेको थियो । तर आयोजनाको अधिकार पाएको माल्दिभ्सले एन्फाको प्रस्ताव स्विकार गरेको थिएन ।
फुटबल खेल मात्र हैन, पैसा पनि हो । आयोजनाको जिम्मेवारी लिएको माल्दिभ्स सुरुवातमा एक पैसा घट्न टसमस भएको थिएन । त्यसले नेपाल मात्र हैन अन्य कुनै दक्षिण एसियाली देशको सुरुवातमा प्रत्यक्ष प्रशारणको अधिकार लिएका थिएनन् ।
लगातारको एन्फाको आग्रहपछि माल्दिभ्सले २५ हजार डलरमा प्रतियोगिताका बाँकी खेल दिने सहमती जनायो । सोही अनुसार एन्फाले २५ हजार डलर तिर्ने सञ्चार संस्था र एजेन्सीको खोजी गरेको थियो ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले सोमबार बिहानै फेसबुक स्टाटस हालेर प्रत्यक्ष प्रशारणको चाजोबाजो मिलाउने कोशिश गरिरहेको संकेत गरेका थिए । शेर्पाले देशका ठुला टेलिभिजन संस्था र फुटबलसँग जोडिएका बिज्ञापन एजेन्सीलाई अनुरोध गरेका थिए । तर कुनैपनि संस्था र एजेन्सीले यसमा मन देखाएनन् ।
अन्तिम समयमा आएर डिस होम अन्तर्गतको एक्सन स्पोर्टसले नेपालको बाँकी खेल प्रत्यक्ष प्रशारण गर्ने भयो । एक्सन स्पोर्टसमा प्रत्यक्ष प्रशारण गर्न डिस होमले २५ हजार अमेरिकी डलर माल्दिभ्सको एफएलाई तिर्न तयार भएको छ ।
आफ्नै देशको खेल हेर्न नपाउने भएपछि दर्शक तथा समर्थक एन्फा र नेतृत्वसँग रुष्ट थिए । तर एन्फालाई माल्दिभ्सले राखेको शर्त पुरा गर्ने सञ्चार संस्था र एजेन्सी नपाएर हैरान थियो ।
डिस होमले खेलको प्रत्यक्ष प्रशारणको जिम्मेवारी वहन गरेपछि एन्फालाई भने अब चैन मिलेको छ । दर्शकले घरमै टिभीमार्फत नेपालको खेल प्रत्यक्ष हेर्न पाउने भएका छन् ।