काठमाडौं । जर्मनीमा आयोजना भएको चिम्निज ओपन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपालले ४ स्वर्ण पदक र २ कास्य पदक जितेको छ ।
जर्मनीको चिम्निजमा नेपालका मन्देकाजी श्रेष्ठले दुई स्वर्ण पदका जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णधारी उनले सिनियर एकल काता र ३० वर्ष माथिको उमेर समूहको एकल कातामा स्वर्ण जितेका हुन् ।
यस्तै सागका पदकधारी मुकुन्द्र महर्जनले ३० वर्ष माथिको उमेर समूहमा स्वर्ण जिते । ७५ केजी तौल समूहमा उनले कास्य पदक जितेको टिम व्यवस्थापक स्वच्छम गुरुङले जानकारी गराए ।
त्यस्तै नेपालका सुमन तिमल्सिनाले सिनियर एकल कातामा कास्य र आफ्नो उमेर समूहमा स्वर्ण पदक जितेका छन् ।
प्रतियोगितामा जर्मनी, पोल्याण्ड, अष्ट्रिया, अजरबैजान, इरान, नेदरल्यान्ड्स, स्पेन, बेल्जियम लगायतका देशको सहभागिता रहेको थियो ।