काठमाडौं । नेपाल टुरिजम कप गल्फ प्रतियोगिता अन्तर्गत क्लब च्याम्पियनसिपको उपाधि त्रिभुवन आर्मी अफिसर्स क्लबले हात पारेको छ ।
गोकर्ण गल्फ क्लबमा मंगलबार गोकर्ण गल्फलाई काउन्ट ब्याकको आधारमा हराएर आर्मी अफिसर्सले उपाधि जितेको हो ।
आर्मी अफिसर्सबाट खेलिरहेका १३ औं सागमा स्वर्णधारी सुवास तामाङ र निश्चय जंग रायमाझीले कुल १२ ओभर ३ सय स्कोर बनाए ।
गोकर्णका टासी छिरिङ र सद्भाव आचार्यले पनि कुल १२ ओभर ३ सय स्कोर बनाए । तर, काउन्ट ब्याकमा गोकर्ण पछि पर्यो । सोमबार भने गोकर्णले दुई स्ट्रोक्सको अग्रता बनाएको थियो ।
हिमालयन गल्फ कोर्स पोखरा तेस्रो स्थानमा रह्यो । धरान गल्फ क्लब चौंथो स्थानमा रहदा रोयल नेपाल गल्फ क्लब पाँचौं रह्यो ।
नेपाल गल्फ संघले पर्यटन दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत भोलि कर्पोरेट गल्फ प्रतियोगिता हुनेछ ।
विजेता खेलाडीलाई ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरिने संघले जनाएको छ ।
यस्तै होल नम्बर १० मा 'होल इन वन' गर्नेले कोया सोनेट पुरस्कार प्राप्त गर्नेछन् ।