काठमाडौं । कराते खेलाडी अनु अधिकारीले रुसको मस्कोमा आयोजना हुने कराते १ प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
साग स्वर्णधारी अनुले करातेको र्याकिङ प्रतियोगिता समेत रहेको प्रिमियर लिग खेल्न लागेकी हुन् ।
विश्वका विश्व च्याम्पियन, ओलम्पिक च्याम्पियन लगायतका खेलाडीहरुको सहभागिता रहने र्याकिङ प्रतियोगितामा अनुले ५५ केजी मुनिको तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् ।
प्रत्येक तौल समूहमा बिश्वका ६४ जनाले मात्र प्रतिस्पर्धा गर्न पाउने प्रशिक्षक दीपक श्रेष्ठले बताए । खेलाडी अनुको हाल विश्व कराते र्याकिङमा १६३ औं स्थान रहेको छ । यस लिगमा उच्च १० स्थान हासिल गर्ने खेलाडीहरु ओलम्पिकका लागि स्वतः छनौट हुने खेलाडी अनुले जानकारी गराईन् । यो लिग आउदो ओलम्पिकका लागि सुरुवाती चरण भएको समेत अधिकारीले बताईन् ।
प्रत्येक तौल समूहमा विश्वका ६४ जना मात्र खेलाडीहरुले सहभागिता जनाउन पाउने यस विश्व र्याकिङ प्रतियोगितामा सहभागिता हुनका लागि कराते महासंघले आयोजना गर्ने विभिन्न सिरिज प्रतियोगिताहरुमा सहभागिता र जितका आधारमा र्याकिङ का लागि प्राप्त अंकका आधारमा उच्च ५० भित्र परेका खेलाडीहरुले स्वतः छनोट चरण पार गर्नेछन् र बाँकी १४ जना २०० र्याकिङभित्र परेका खेलाडीहरुले लिगका लागि दर्ता खुलेको अवस्थामा फस्ट कम फस्टका आधारमा जति सक्दो चाँडो नाम दर्ता गर्न सकेमा मात्र सहभागिता जनाउन पाउने प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए ।
अरुबेला १५० भित्रका खेलाडीहरुले मात्र सहभागिताका लागि नाम दर्ता गर्न पाउने भएता पनि यस पटक कोभिडका कारण सिरिजहरु नभएका कारण २०० भित्रका खेलाडीहरुले नाम दर्ता गर्न पाउने प्रावधान करोत महासंघले गरेकाले अनु यस लिगका लागि छनोट हुन सफल भएको समेत प्रशिक्षक श्रेष्ठले जानकारी गराए ।
अक्टोबर १ देखि ३ सम्म आयोजना हुने लिग प्रतियोगिताका लागि अनु एक्लै आजै त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
मस्को जान लागेकी अनुलाई मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवालले बिदाइ गरेका थिए । सो क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको पनि अनुलाई बिदाइ गरे ।