काठमाडौं । नेपाल टुरिजम कप गल्फ प्रतियोगितामा गोकर्ण गल्फ क्लबले अग्रता बनाएको छ ।
गोकर्ण गल्फ क्लबमा सोमबार गोकर्णले त्रिभुवन आर्मी अफिसर्स क्लबमाथि दुई स्ट्रोकको अग्रता बनाएको हो ।
गोकर्णका टासी छिरिङ र सद्भाव आचार्यले ७ ओभर १ सय ५१ स्कोर बनाए ।
छिरिङले दुई ओभर ७४ तथा सद्भावले पाँच ओभर ७७ स्कोर कार्ड बनाए ।
त्रिभुवनका सुवास तामाङ र निश्चय जंग रायमाझीले कुल नौं ओभर १ सय ५३ स्कोर बनाए । १३ औं सागमा स्वर्णधारी सुवासले एक ओभर ७३ तथा रायमाझीले आठ ओभर ८० स्कोर बनाए ।
रोयल नेपाल गल्फ क्लब २४ ओभर १ सय ६८ स्कोरसहित तेस्रो स्थानमा रहेको छ । हिमालय गल्फ कोर्सले २६ ओभर १ सय ७० स्कोर बनाएको छ।
नेपाल गल्फ संघले पर्यटन दिवसको अवसरमा आयोजना गरेको प्रतियोगिता अन्तर्गत भोलि टिमतर्फको फाइनल चरणको खेल हुनेछ ।
प्रतियोगिताको अन्तिम दिन भने ओपन गल्फ प्रतियोगिता हुनेछ ।
प्रतियोगितामा महिला र पुरुषमा कुल ८० जना गल्फरको सहभागिता रहेको संघले जनाएको छ ।
विजेता खेलाडीलाई ट्रफीसहित गिफ्ट ह्याम्पर प्रदान गरिने संघले जनाएको छ ।
यस्तै होल नम्बर १० मा 'होल इन वन' गर्नेले कोया सोनेट पुरस्कार प्राप्त गर्नेछन् ।