काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको आयोजना हुने भएको छ।
नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स कम्पनीले मंगलबार पत्रकार सम्मेलन गर्दै एनएसएल महिला तथा पुरुष फ्रेन्चाइज भलिबल लिगको घोषणा गरेको छ ।
लिगको लागि इभेन्ट्स कम्पनीले नेपाल भलिबल संघसँग १० वर्षको सम्झौता समेत गरेको छ।
सम्झौता पत्रमा संघका उपाध्यक्ष निरोज मास्के र एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरीले हस्ताक्षर गरे ।
सम्झौतासँगै प्रतियोगिताका लागि संघले प्राविधिक सहयोग गर्नेछ भने व्यवस्थापन र लागत खर्च इभेन्ट्स कम्पनीले व्यहोर्नेछ ।
यस्तै प्रतियोगिताबाट भएको नाफाको ३० प्रतिशत संघले पाउने छ ।
पहिलो संस्करणको प्रतियोगिता नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म गर्ने लक्ष्य राखिएको एनएसएलले जनाएको छ।
दोस्रो संस्करणबाट होम एण्ड अवेको आधारमा विभिन्न शहरमा खेलाईने बताईएको छ ।
सम्झौतापछि बोल्दै चौधरीले भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन भूमिका खेल्ने बताईन् ।
'खेलकुदको माध्यमबाट युवाको विकास गर्दै सबै प्रदेशमा दक्षता अभिबृद्धि गर्ने लक्ष्य रहेको छ । र, महिला र पुरुष भलिबल खेल र खेलाडीलाई व्यवसायिक बनाउन भूमिका खेल्ने छौँ,' उनले भनिन् ।
उपाध्यक्ष मास्केले यस प्रतियोगितापछि नेपालले अन्तराष्ट्रिय क्षेत्रमा उपलब्धि हासिल गर्न सहयोग गर्ने विश्वास ब्यक्त गरिन्।
'प्रतियोगिताले भलिबल खेलको विकास र विस्तारका लागि व्यवसायिकरण गर्ने, भलिबल खेलले फड्को मारेर अन्तराष्ट्रिय रूपमा उपलब्धी हासिल गर्ने अपेक्षा छ,' उपाध्यक्ष मास्केले भनिन्, 'यसले खेलको पूर्वाधार विकास र खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास छ ।'
स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले यस वर्षको सुरुवातमा फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) सञ्चालन गरेको थियो ।
एनएसएलको समापन समारोहमा भलिबलको फ्रेन्चाईजको घोषणा गर्ने तयारी थियो । तर कोभिडको कारण तत्कालिन समयमा भलिबलको फ्रेन्चाईजको घोषणा हुन सकेको थिएन ।