काठमाडौं । अन्तराष्ट्रिय बक्सिङ दिवस नेपालमा पनि मनाईने भएको छ ।
नेपाल बक्सिङ संघले अगस्ट २७ का दिन अन्तराष्ट्रिय बक्सिङ दिवस मनाउने निर्णय गरेको छ ।
संघले एक विज्ञप्ति निकाल्दै संघसँग आबद्द जिल्ला संघ, खेलाडी र प्रशिक्षकलाई नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाएर दिवस मनाउन आग्रह गरेको छ ।
बक्सिङको सर्वोच्च निकाय अन्तराष्ट्रिय बक्सिङ संघ (आईबा) ले १९७४ माक्यूवाको हवानामा भएको प्रथम आईबा वर्ल्ड च्याम्पियनशिपको मितिलाई आधार मानेर अगस्ट २७ मा बक्सिङ दिवस मनाउने गर्छ ।
नेपालले पनि बक्सिङ दिवसमा विविध कार्यक्रम आयोजना गरेर मनाउने चलन रहेको छ ।
यस्तै संघले खेलाडी, प्रशिक्षक एवं संघका पदाधिकारीहरुले सेडो बक्सिङ इभेन्ट्समा सहभागिता जनाउन आग्रह गरेको छ।
यस साता २० देखि ४० सेकेण्ड सम्मको भिडियो खिचेर उक्त भिडियो सकिन लाग्दा क्यामेराको नजिक आएर आफ्नो अनुहार प्रस्ट देखाई 'वी आर फेस अफ बक्सिङ' भनेर आईबाको इन्स्टाग्राममा पठाई सेडो बक्सिङमा सहभागिता जनाउन सकिने जनाएको छ । उत्कृष्ट भिडियोले २० जोर बक्सिङ ग्लोभ्स उपहार पाउने बताईएको छ ।