काठमाडौं । एसियन महिला च्याम्पियनसिप मुखैमा थियो । कोभिडका कारण नेपाल सहभागी हुनै पाएन । प्रतियोगिताकै बाहानामा राष्ट्रिय टिमका खेलाडी बाहिर निस्कन पाएका थिए । प्रशिक्षणमा सामेल हुन पाएका थिए । १३ औं सागको ऐतिहासिक सफलतापछि राष्ट्रिय महिला टिमको प्रशिक्षण सुरु हुन पाएको थिएन । काठमाडौं र मोफसलका केही प्रतियोगितामा महिला खेलाडीले खेल्न पाएका थिए ।
भलिबलको पुरुष टिमले हालत अझ बिजोग छ । सागपछि पुरुष टिमले राष्ट्रिय टिमको संयुक्त प्रशिक्षण गर्न पाएको छैन । महिलासंगै पुरुषको टिमलाई समेत प्रशिक्षणमा फर्काउने तयारी थियो । तर प्रतियोगिता नहुने भएपछि महिला टिमकै प्रशिक्षण रोकियो । केही हप्तामा सुरु गर्ने भनियो । महिला र पुरुष टिमको प्रशिक्षण तत्काल सुरु हुने लक्षण देखिदैन । अन्तराष्ट्रिय प्रतियोगिता नभएर खेलाडीलाई प्रशिक्षणमा फर्काउने मनसाय भलिबल संघको देखिदैन ।
नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्द अन्तराष्ट्रिय सहभागिता सुनिश्चित नभएसम्म भलिबलको प्रशिक्षण सुरु नहुने बताउछन् । चन्दले अन्र्तराष्ट्रिय सहभागिता सुनिश्चित नभएर खेलडीको अभ्यास गराउन सम्भव नभएको उल्लेख गरे ।
‘सेन्ट्रल जोनले वार्षिक क्यालेण्डर बनायो, तर कोरोनाको कारण स्थगित भइरहेको छ । अन्तराष्ट्रिय सहभागिता सुनिश्चित नभई बिना कुनै लक्ष्य अभ्यास गराउन सम्भव छैन ।’ चन्दले भने, ‘फुटबल र क्रिकेटको अन्र्तराष्ट्रिय सहयोग आउँछ । तर हामीले राखेपमा आशा गर्नुपर्छ । संघको आय–श्रोत छैन । राखेपले आर्थिक बजेट दिएको खण्डमा प्रशिक्षण सुरु गर्न सक्छौ ।’ उनले भने ।
कोराना महामारीका कारण देशभर लकडाउन भएपछि खेलक्षेत्र पुरै ठप्प भएको थियो । तर बिस्तारै अन्य खेलको प्रशिक्षण र प्रतियोगिताको सुरुवात भएपनि भलिबलको भने हुन सकेको छैन ।
फिलिपिन्समा हुने भनिएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीका लागि राष्ट्रिय महिला भलिबल टिम बन्द प्रशिक्षणमा बसेको थियो । तर कोरोनाको कारण देखाउदै नेपाल च्याम्पियनसिप खेल्नबाट बञ्चित भयो । आयोजकले कोभिडको बढ्दो संक्रमणको कारण देखाउँदै नेपाललाई प्रतियोगितामा समावेश गर्न नसक्ने बतायो ।
महिला टिम मात्र नभएर पुरुष भलिबल टिमको अवस्था पनि उस्तै छ । पुरुषको राष्ट्रिय टिमले प्रशिक्षण नगरेको निकै समय बितिसकेको छ । १३ औं सागपछि राष्ट्रिय पुरुष टिमले एकसाथ प्रशिक्षण गर्न पाएको छैन ।
राष्ट्रिय पुरुष भलिबल टिम तथा पुलिसका कप्तान इम रानाले आन्तरिक प्रशिक्षणमा फर्किएको करिब एक साता भएको बताउँछन् । खेलाडीहरु विभागीय टिमको प्रशिक्षणमा समेत भर्खरैमात्र फर्कन थालेका छन् ।
‘अभ्यास गर्न लागेको एक साता भएको छ । त्यो भन्दा अघि व्यक्तिगत अभ्यास गरेका थियौं । प्रतियोगिता नभएको धेरै भएको छ । अब हुन्छ भन्ने सुन्नमा आएको छ । तर आधिकारिक रुपमा अभ्यास हुन्छ भनेर आएको छैन ।’ उनले भने ।
त्रिभुवन आर्मीका राजेन्द्र विष्टले राष्ट्रिय टिमका खेलाडी प्रशिक्षणमा फर्काउनमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउछन् ।
‘राष्ट्रिय टिमका खेलाडी एकै ठाउँमा अभ्यास गर्न पाए केही हुन्थ्यो कि भन्ने लाग्छ । विभागमा बिहान र बेलुका आन्तरिक अभ्यास गर्छाै । ट्रेनिङ गर्ने, खाने, बस्ने भइरहको छ । विदेशमा प्रतियोगिता भईरहेको छ, तर यहाँ छैन । न प्रतियोगिता गराउन स्वीकृति पाएको छ । अर्काेतर्फ कोभिडको डर पनि छ ।’ उनले थपे, ‘सरकारले अरु खेलकुद खोलिसकेको छ । तर हाम्रो मात्र खोलेको छैन । भलिबलको बारेमा पनि सोचिदिए हुन्थ्यो । अहिले प्रतियोगिता नहुँदा अभ्यासमा मात्र केन्द्रित भइरहेका छौ ।’
पुलिसका खेलाडी कुल बहादुर थापाले कोरोनाको कारण खेल क्षेत्रमा धेरै असर परेको बताए । उनले प्रतियोगिता नहुँदा प्रशिक्षणमा नै केन्द्रित भएको बताए ।