नेपालगन्ज । उमेर ५६ वर्ष पुगेका तेजविक्रम शाह, आगामी साउन १८ गतेदेखि महाकाली-मेची यात्रा गर्दैछन् ।
कोभिडबाट ज्यान गुमाउने नागरिहरुप्रति समर्पित रहेर शाहले नेपालको पश्चिमदेखि पूर्वसम्मको एक हजार एक सय ७८ किलोमिटर यात्रा साइकलको माध्यामबाट गर्न लागेका हुन् ।
नेपालगन्ज साइकिलिंग क्लबका सदस्यसमेत रहेका शाहले यसअघि गतसाल एकैदिनमा दुई सय ६० किलोमिटर यात्रा गरेका थिए । उनले सो यात्राका क्रममा नेपालगन्जदेखि टीकापुर पुनः टीकापुरदेखि नेपालगन्ज र आशपासका क्षेत्रमा साइकल चलाएका थिए । शाहका अनुसार उक्त रेकर्ड नेपालमै पहिलो रहेको बताउँछन् ।
त्यस्तै नेपालगन्जदेखि दोधार चाँदनीसम्मको दुई सय १५ किलोमिटर साइकल यात्रा पनि शाहले एकैदिनमा नै तय गरेका थिए । उनले एकैदिनमा ‘टूर दे ठाकुरद्वाराको पनि यात्रा साइकलबाटै गरेका थिए ।
शुक्रबार नेपालगन्जमा पक्रकार सम्मेलनको आयोजना गरेर शाहले गर्ने साइकिलिंगका बारेमा जानकारी गराइएको छ । शाहको ११ दिनको उक्त साइकिलिंग यात्रा पश्चिम दोधारा चाँदनीबाट सुरु भई विर्तामोड मेची पुलमा पुगेर समापन हुनेछ ।
शाहले पहिलो दिन साउन १८ गते दोधारा चाँदनीदेखि टीकापुरसम्मको एक सय ३५ किलोमिटरको यात्रा गर्नेछन् । त्यस्तै साउन १९ गते टीकापुरदेखि नेपालगन्जसम्मको ८० किलोमिटर, साउन २० गते नेपालगन्जदेखि लमही एक सय २७ किलोमिटर, साउन २१ गते लमहीदेखि चन्द्रौटा ६० किलोमिटर, साउन २२ गते चन्द्रौटादेखि बुटवल ९५ किलोमिटर, साउन २३ गते बुटवलदेखि कावासोती ८५ किलोमिटर, साउन २४ गते कावासोतीदेखि हेटौडा एक सय ६ किलोमिटर, साउन २५ गते हेटौडादेखि लालबन्दी (सर्लाही) एक सय चार किलोमिटर यात्रा गर्नेछन् ।
त्यसैगरी साउन २६ गते लालबन्दीदेखि बर्दिबास एक सय ३० किलोमिटर, साउन २७ गते बर्दिबासदेखि कोशी ब्यारेज एक सय २६ किलोमिटर र कोशी ब्यारेजदेखि विर्तामोड (मेची पुल) एक सय ३० किलोमिटर यात्रा गर्नेछन् ।
शाहलाई महाकाली साइकिल यात्रामा एचसिआरसि हस्पिटल, नेपालगन्जले मुख्य प्रायोजन गरेको छ । साथै खजुरा गाउँपालिका र आशिरवाद पेन्ट सह प्रायोजन गरेको छ ।