एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बिहीबार अपरान्हसम्म कुल १ सय ४ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ३७ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
ओलम्पिकको सातौं दिन जारी रहदा पदक तालिकामा चीन शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र जापानलाई पछि पार्दै चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
चीनले १४ स्वर्ण पदकसहित कुल २९ पदक जितेको छ ।
दोस्रो स्थानको अमेरिकाले १३ स्वर्ण पदकसहित कुल ३६ पदक जितेको छ । यस्तै तेस्रो स्थानको जापानले १३ स्वर्णसहित कुल २२ पदक जितेको छ ।
रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल २५ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ७ स्वर्णसहित कुल १९ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ तथा जर्मनी र फ्रान्सले ३/३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा इटाली, नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभानिया, क्रोएसिया र कोसोभो रहेका छन् ।
त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २१ रहेको छ ।