एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ ।
राजधानी टोकियोमा जारि ओलम्पिक अन्तर्गत बुधबारसम्म कुल ९५ स्वर्ण पदकको छिनोफानो भएको छ । जसमा रसियन ओलम्पिक टिमसहित कुल ३५ राष्ट्रले स्वर्ण पदक जितेका छन् ।
ओलम्पिकको छैटौं दिन सकिदा पदक तालिकामा आयोजक जापानले अग्रता कायमै राखेको छ । अमेरिका र चीनलाई पछि पार्दै जापान पदक तालिकाको शीर्ष स्थानमा रहेको हो ।
जापानले १३ स्वर्ण पदकसहित कुल २२ पदक जितेको छ । चीन १२ स्वर्णसहित कुल २७ पदक जित्दै दोस्रो स्थानमा उक्लिएको छ ।
तेस्रो स्थानमा झरेको अमेरिकाले ११ स्वर्णसहित कुल ३१ पदक जितेको छ ।
रसियन ओलम्पिक टिम ७ स्वर्णसहित कुल २३ पदक जितेर चौंथो स्थानमा रहदा अष्ट्रेलिया ६ स्वर्णसहित कुल १६ पदक जितेर पाँचौं स्थानमा रहेको छ ।
यस्तै ग्रेट ब्रिटेनले ५ स्वर्ण जित्दा दक्षिण कोरियाले ४ तथा जर्मनी र फ्रान्सले ३/३ स्वर्ण पदक हात पारेका छन् । २ स्वर्ण जित्नेमा नेदरल्यान्ड्स, क्यानडा, हंगेरी, स्लोभानिया र कोसोभो रहेका छन् ।
त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या २१ रहेको छ ।
बुधबार नेपालकी पौडीबाज गौरिका सिंहले महिलाको १ सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् ।
हिट चरणबाट बाहिरिएकी गौरिकाले राष्ट्रिय कीर्तिमान भने बनाईन् ।