काठमाडौं । त्रिभुवन आर्मी क्लबकी बिमला श्रेष्ठ र पुनम रावल आगामी नोभेम्बरमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपका लागि नेपालबाट छनोट भएका छन् ।
मंगलबार सम्पन छनोटमा आ आफ्नो तौल समूहको विजेता बन्दै बिमला र पुनम छनोट भएकी हुन् । अब च्याम्पियनसिपमा बिमलाले ५१ केजीमूनि र पुनमले ६० केजीमूनि तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । च्याम्पियनसिप नोभेम्बर १४ देखि २५ सम्म भारतको नयाँ दिल्लीमा हुँदैछ ।
सातदोबाटोमा सम्पन्न छनोटको फाइनलमा बिमलाले आफ्नै क्लबकी मनु गुरुङलाई ५–० अंकका आधारमा पराजित गरिन् । पुनमले प्रतिस्पर्धात्मक खेलमा एपीएफकी संगीता सुनारको चुनौती ३–२ अंकका आधारमा पन्छाइन् ।
विश्व बक्सिङमा छानोट भएसंगै बिमला र पुनमलाई खेलकुद प्रवद्धन संस्थाका पुस्करराज पन्त र बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले नगद ५–५ हजार प्रोत्साहन पुरस्कार प्रदान गरेका थिए ।
छनोट प्रतियोगितामा राखेप सदस्य अर्जुनबहादुर केसी, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले,गुरु सुरेशसिंह आलेलगायतको उपस्थिति रहेको थियो ।