काठमाडौं। करातेका प्रशिक्षक दीपक श्रेष्ठले जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने मौका गुमाउँदा कराते परिवार निराश भएको बताएका छन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका प्रशिक्षक श्रेष्ठले मंगलबार एक विज्ञप्ति निकाल्दै ओलम्पिक खेल्ने मौका गुमाउँदा कराते परिवार निराश भएको बताएका हुन् ।
'पहिलो पटक ओलम्पिकमा समावेश करातेमा विश्वभरका ६ तौल र काताका २ गरि ८० (पुरुष ४० र महिला ४०) खेलाडी मात्र समावेश गराउने निर्णय भएको थियो ।
कुल ८० मध्ये ३२ खेलाडी वरियताका आधार र आयोजक ८ गरि ४० खेलाडी विश्व कराते महासंघले छनोट गरेका थिए । त्यस्तै हरेक समूहका ३ हाइ पोजिसन खेलाडी फ्रान्समा भएको छनोट खेलबाट २४ जना छनोट भएका थिए । १२ खेलाडी महादेशबाट छनोट भएका थिए । बाँकी ४ खेलाडीलाई वाइल्ड कार्डको व्यवस्था गरिएको थियो ।
जसमध्ये एसियाली राष्ट्र कुवेतलाई एउटा वाइल्ड कार्ड प्राप्त भयो । र, अन्य सबै युरोपलाई । यी सबै कारणले गर्दा पहिलो पटक समावेश ओलम्पिकमा हाम्रो सहभागिता हुन सकेन । जसका कारण हामी कराते परिवार निराश भएका छौं,' श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रशिक्षक श्रेष्ठले ओलम्पिक खेल्ने मौका गुमाए पनि कराते खेलाडीलाई एसियन गेम्स र १४ औं सागका लागि खेलाडीलाई तयारीमा राख्नु पर्ने समेत बताए ।
टोकियो ओलम्पिक यहिँ शुक्रबारबाट सुरु हुँदैछ । नेपालबाट ४ खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
टोकियो ओलम्पिकका लागि करातेका दुई खेलाडीलाई प्रशिक्षणमा राखिएको थियो । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता अनु अधिकारी र नवीन रसाइलीलाई प्रशिक्षणमा राखिएको थियो । टोलीको प्रशिक्षकमा श्रेष्ठ रहेका थिए ।
तर, नेपाली टोलीले पोर्चुगलमा भएको करातेको प्रिमियर लिग र फ्रान्समा हुने ओलम्पिक छनोट खेल गुमाएका थिए ।
भिसा समस्याको कारण नेपाली टोलीले प्रिमियर लिग गुमाएका थिए । वरीयता प्राप्त हुने त्यस प्रतियोगिता गुमाउँदा नेपाली खेलाडीले आफ्नो वरीयता सुधार गर्ने अवसरबाट बञ्चित भएका थिए । यस्तै कोरोनाको कारण नेपालले ओलम्पिक छनोट प्रतियोगिता गुमाएका थिए।