काठमाडौं । राष्ट्रिय भलिबल टिमकी सदस्य प्रतिभा मालीले उमेर समूहको प्रतियोगितालाई प्राथमिकतामा राख्नुपर्ने बताएकी छिन् ।
राष्ट्रिय महिला भलिबल टिमकी प्रभावशाली स्पाइकर समेत रहेकी मालीले उमेर समूहका अन्तराष्ट्रिय प्रतियोगिता खेल्न नेपालले प्रयास गर्नुपर्ने बताईन् ।
‘नेपालले सिनियर प्रतियोगितामात्र खेल्ने गरेको छ । त्यो पनि वर्षमा एक दुई पटकमात्र खेल्न पाउँछ । नेपालले साग मात्र खेल्ने गरेको थियो । यस पटक एसियन च्याम्पियनसिप खेल्न लागेका थियौं ।’ प्रतिभाले भनिन्, ‘उमेर समूहका प्रतियोगितामा अन्तराष्ट्रिय सहभागी बनाएको खण्डमा साना उमेरका खेलाडी प्रेरित हुन्छन् । आफ्नो उमेरसंग खेल्न पाउनु र सिनियरसंग खेल्दाको अनुभव फरक हुन्छ । सानो उमेरका खेलाडीले सानैसंग प्रतिस्पर्धा गर्न पाउँदा राम्रो हुन्छ ।’
राष्ट्रिय महिला भलिबल टिमले पहिलो पटक एसियन च्याम्पियनसिप खेल्ने तयारी गरेको थियो । कोभिडका कारण फिलिपिन्समा हुने प्रतियोगिता खेल्न नेपालले नपाउने भएको छ ।
आयोजक देश फिलिपिन्सले नेपालमा बढ्दो संक्रमणका कारण प्रतियोगितामा स्वागत गर्न नपाउने पत्र नेपाल भलिबल संघलाई पठाएको छ । योसंगै पहिलो पटक सबैभन्दा ठुलो अन्तराष्ट्रिय प्रतियोगिता खेल्ने राष्ट्रिय महिला टिमको लक्ष्यमा ब्रेक लागेको छ ।
राष्ट्रिय महिला भलिबल टिमकी सदस्य प्रतिभा सिनियर जस्तै उमेर समूहका अन्तराष्ट्रिय प्रतियोगिताकोे अवसर खोजी गर्नुपर्ने बताउछिन् ।
‘उमेर समूहमा माथिल्लो स्तरका खेलाडीसंग खेल्दा पाउँदा खेलाडीको मनोबल समेत उच्च हुन्छ । उनीहरुले फरक अनुभुती गर्न पाउँछन् । समान उमेरसंग खेल्दा पाउँदा खेलाडीलाई समेत राम्रो हुन्छ ।’ न्यु डायमण्ड क्लबकी कप्तान प्रतिभाले भनिन् ।
नेपालमा खासै उमेर समूहका प्रतियोगिता हुदैनन् । भलिबलमा ग्रासरुटबाट खेलाडी आउन आउन सकेका छैनन् । पछिल्लो समय उमेर समूहका स्कुल प्रतियोगिता समेत बिरलै हुने गरेका छन् ।
प्रतिभाले भाग्यका कारण एसियन च्याम्पियनसिपको अवसर गुमेकोमा दुख व्यक्त गरिन् । आफुहरुले सक्दो कोशिश गर्दा समेत प्रतियोगितामा सहभागी हुन नपाएको खिन्नता जनाईन् ।
‘मेहनत गरिरहेका थियौं । सबैभन्दा ठुलो प्रतियोगिता खेल्न लागिरहेका थियौं । सबै उत्साहीत थिए ।’ उनले भनिन्, ‘धेरैनै दुख लागेको छ । कोभिडकै कारण बञ्चित हुनपर्यो । सक्दो कोशिश गरेका थियौं । भाग्यले गर्दा सहभागी हुन पाएनौं । अर्को खेलका लागि तयारी गर्न खोजिरहेका छौं ।’