काठमाडौं । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरुलाई रिलिज गरेको छ ।
फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्नबाट बन्चित भएपछि संघले शनिबार खेलाडी रिलिज गरेको हो ।
संघले राष्ट्रिय टिमको बन्द प्रशिक्षण स्थगित गर्दै खेलाडीलाई छाडेको हो ।
'खेलाडीहरु आजबाट घर गएका छन् । प्रशिक्षण सुरु भएपछि फेरि बोलाउने छौँ,' संघका सचिव मनबिर छन्त्यालले भने ।
बन्द प्रशिक्षणमा रहेका १८ खेलाडी रहेका थिए । प्रतियोगिताको लागि नेपालले असार १ गतेबाट तयारी गरिरहेको थियो ।
तर, एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले शुक्रबार नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको थियो ।
कोभिड १९ को नयाँ भेरियन्टको अति सम्वेदनशिल क्षेत्र भएको कारण देखाउँदै फिलिपिन्स सरकारले एशियन भलिबल महासंघ मार्फत नेपाल र भारतको भलिबल टिमलाई सहभागी गराउन असमर्थ रहेको जानकारी गराएको नेपाल भलिबल संघले जनाएको छ ।
एभीसीले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपे, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन् ।
एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।