काठमाडौं । नेपाल भलिबल संघले बन्द प्रशिक्षणमा रहेका महिला खेलाडीहरुलाई रिलिज गर्ने भएको छ ।
नेपालले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेल्न नपाउने भएपछि संघले खेलाडी रिलिज गर्ने भएको हो ।
संघको बैठकले बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीलाई शनिबार रिलिज गर्ने निर्णय गरेको हो । संघका सचिव मनबिर छन्त्यालले खेलाडी एक हप्ताका लागि रिलिज गर्ने निर्णय गरेको बताए ।
'एभीसीले नेपाललाई कोरोनाको कारण प्रतियोगितामा सहभागिता नगराउने निर्णय गरेको छ । प्रतियोगिता नखेल्ने भएपछि खेलाडीलाई भोलि एक हप्ताको लागि छाड्ने र त्यसपछि फेरि प्रशिक्षणमा बोलाउने निर्णय भएको छ,' छन्त्यालले खेलपाटीसँग भने ।
प्रतियोगिताको लागि नेपालले असार १ गतेबाट तयारी गरिरहेको थियो । बन्द प्रशिक्षणमा १८ खेलाडी रहेका थिए ।
तर, एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले शुक्रबार नेपाललाई प्रतियोगिताबाट बाहिर राख्दै खेल तालिका सार्वजनिक गरेको छ । एभीसीले सार्वजनिक गरेको तालिका अनुसार प्रतियोगितामा आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने छन् ।
च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्याण्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपे, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन् ।
एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।