काठमाडौं । नेपालको पौडी खेलको विकासक्रम धेरै लामो छैन । २०३८ सालदेखि शुरु भएको नेपाल पौडी संघ अहिले पौडी विकासमा जोडतोडले लागेको दाबी गर्छ ।
घटनाक्रमलाई नियालेर हेर्दा नेपालले पौडी खेलमा फड्को मार्ने लक्ष्य लिएको छ । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतियोगिता आयोजना र सहभागितालाई हेर्दा सन्तोष मान्ने ठाउँ त रहला तर उपलब्धीको पाटो निकै चिन्ताजनक छ ।
पौडीका लागि भनेर ललितपुरको सातदोबाटोमा एक मात्र अन्तराष्ट्रिस्तरको पौडी पोखरी छ । त्यो पनि अहिले राम्रोसंग चलेको छैन । कहिले पानी, कहिले पोखरीको समस्याले पौडी पोखरी राम्रोसंग सञ्चालनमा आउन सकेको छैन् ।
सन् २०१९ मा नेपालमा हुने दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागलाई लक्षित गर्दै सातदोबाटोमा रहेको अन्तराष्ट्रिय पौडी पोखरीको छेउमा हिटिङ सिस्टमको पौडी पोखरीको काम अगाडी बढेको छ ।
मौसमी खेलका रुपमा चिनिएको पौडीलाई बर्षभरी खेल्न योग्य बनाउन सरकार र पौडी संघको लगानीमा हिटिङ सिस्टमको पौडी पोखरी नेपालमा पहिलो पटक निर्माण भईरहेको छ ।
पौडी खेलले नेपालमा भर्खरै गति लिन थालेको छ । नेपालमा प्राय गर्मी महिनामा प्रतियोगिता खेलाईन्छ । तर, जोडोको समयमा नेपालमा अभ्यास गर्न खेल्नका लागि पौडी पोखरीको व्यवस्था छैन । यो समस्या राष्ट्रिय खेलाडीले अझ बढी भोग्दै आएका छन् ।
सातदोबाटोमा बनिरहेको हिटिङ पौडी पोखरीले अब त्यो समस्या समाधान गर्ने अपेक्षा गरिएको छ । हिटिङ पौडी पोखरीको निर्माणले खेलाडीलाई १२ महिनानै प्रशिक्षण गर्न मिल्ने र वर्षभरी प्रतियोगिता आयोजना गर्न सहज हुने अपेक्षा गरिएको पौडीसंघका अध्यक्ष अशोक रत्न बर्जाचार्यले बताए ।
'पौडीले नेपाली खेलकुद क्षेत्रका फड्को मारेको छ, त्यो अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा समेत देखिन्छ । र,पदकको हिसाबले समेत प्रमाणित हुन्छ ।' बज्राचार्य भन्छन्, ‘नेपालको लक्ष्य एसियाली गेम्समा स्वर्ण पदक होईन तर एक मिनेटमा पार गर्ने दुरी ५८ सेकेन्डमा खेलाडीले पार गरेपनि त्यो खुसीको कुरा हो । तर हामीले स्वर्ण जित्न सक्दैनौ भन्ने चाँही होईन ।’
बज्राचार्यका अनुसार पौडीमा नेपालले राम्रो नजिता ल्याउन आफ्नो स्तरलाई माथि लैजाने बिषयमा सोच्नुपर्छ । नयाँ प्रकारको तयारीले मात्र सकारात्मक नतिजा आउन सक्ने उनले बताए ।
‘सन् २०१९ मा नेपालमा हुने सागमा भने हामी पौडीको सबै स्पर्धामा पदक जित्ने लक्ष्यमा छौ ।’ उनले भने ।
गत असोजमा शिलान्यास गरिएको हिटिङ पौडी पोखरीको अहिले बेस ढलानको काम भइरहेको छ । कुल २२ करोड रुपैयाँमा निर्माणाधिन पौडी पोखरीमा संघले २० प्रतिशत र बाँकी रकम सरकारले लगानी गर्नेछ ।
बज्राचार्यका अनुसार सन् २०१९ को फेब्रुअरीको अन्तिमसम्म ठेकेदारले संघलाई पौडी पोखरी हस्तान्तरण गर्ने र मार्च महिनामा हुने सागका लागि पोखरी तयार हुनेछ ।
हिटिङ पौडी पोखरी २५ मिटर लामो हुनेछ । अन्तराष्ट्रिय स्तरको मापदण्ड अनुसार बनाउन थालिएको पौडी पोखरीको समयमै निर्माण भए पौडी खेलाडीलाई ठूलो राहत मिल्नेछ ।
हिटिङ पौडी पोखरी नहुँदा प्रतियोगिता आयोजना गर्न गार्मी सिजननै कुर्नुपर्ने बाध्यता छ । प्रतियोगिता मात्र नभएर अभ्यास समेत जाडोयाममा सम्भव भईरहेको थिएन । प्रशिक्षणका लागि लाखौं रुपैयाँ खर्चेर वैदेशिक प्रशिक्षणमा जानुपर्ने बाध्यता छ ।
हिटिङ पौडी पोखरी निर्माण भए खेलाडी उत्पादनमा ठुलो सहयोग मिल्ने बज्राचार्यको भनाई छ । ‘नेपालमा पौडीको विकास सुक्ष्म रुपमा भइरहेको छ । विश्व परिवेशमा पौडी खेलको विकास र स्तर धेरै माथि पुगेपनि नेपालमा पौडी खेलको विकासक्रम प्रारम्भिक अवस्थामा मात्र छ ।’ उनी भन्छन् ।
पछिल्लो समय शहरका निजी विद्यालयले पौडी खेललाई अगाडि बढाउन खोजेपनि सरकारी स्तरबाट पौडीको पुर्वाधार विकासमा खासै चासो नदिएको बज्राचार्यको आरोप छ ।
अब बन्ने हिटिङ पौडी पोखरीले यस खेलको विकासमा फड्को मार्ने संघले विश्वास लिएको छ ।
‘पौडीको ज्ञान सबैमा हुन आवश्यक छ । यसलाई खेलको रूपबाट मात्र हेर्नु हुदैन । पौडी व्यक्तिको सुरक्षाको दृष्टिले पनि महत्वपूर्ण छ । मनोरञ्जनका हिसाबले समेत पौडीको महत्व कम छैन ।’ बज्राचार्य भन्छन्, ‘राज्यले पौडीमा लगानी बढाएको खण्डमा हामीले अन्तराष्ट्रिय स्तरमा राम्रो नतिजा ल्याउन सक्छौ ।’