काठमाडौं । नेपाल भलिबल संघले मनवीर छन्त्यालको संयोजकत्वमा खेलाडी छनोट समिति गठन गरेको छ ।
संघको शुक्रबार बसेको केन्द्रिय समिति बैठकले एसियन महिला सिनियर च्याम्पियनसिपको खेलाडी छनोटका लागि छन्त्याल संयोजकत्वको समिति गठन गरेको छ ।
समितिमा सचिव छन्त्याल सहित केन्द्रिय सदस्य रीता कोईराला, ज्योती केसी, जुनु पुन, चिफ कोच प्रज्वलबहादुर सिंह, हेड कोच जगदिश भट्ट र सहायक कोच भरत यादव छन् ।
समितिले फिलिपिन्समा हुने एसियन च्याम्पियनसिपका लागि प्रारम्भिक १८ सदस्यीय खेलाडी छनोट गर्नेछ ।
नेपालले पहिलो पटक एसियन महिला सिनियर च्याम्पियनसिप खेल्दैछ । फिलिपिन्समा हुने प्रतियोगिता अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म सञ्चालन हुदैछ ।
एसियन च्याम्पियनसिपका लागि नेपालले असार १ गतेबाट प्रशिक्षण सुरु गरेको छ । भलिबल संघले बन्द प्रशिक्षणमा ३० खेलाडीलाई समावेश गरेको छ । तर आधारभुत तालिकमा रहेको भन्दै नेपाल पुलिस क्लबले पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङलाई प्रशिक्षणमा सहभागी गराएन ।
बाँकी २७ जना बन्द प्रशिक्षणमा सहभागी बनेका छन् । हेड कोच जगदिश भट्टले खेलाडीलाई प्रशिक्षण गराईरहेका छन् ।