काठमाडौं । नेपाल भलिबल संघ (एनभीए)ले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि आज (मंगलबार)बाट तयारी सुरु गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल सरकारको स्विकृतसँगै संघले ३० खेलाडीलाई प्रारम्भिक छनोट राखेर प्रशिक्षण सुरु गरेको हो ।
संघले महिला टोलीको प्रशिक्षण राखेप कभर्डहल त्रिपुरेश्वरमा सुरु गरेको थियो ।
मुख्य प्रशिक्षक जगदिश भट्टको अनुपस्थितीमा महिला टिमले पहिलो दिनको अभ्यास सत्र समाप्त गरेको छ । गृहनगरमा रहेका कारण भट्ट सुरुवातको दिन अनुपस्थित रहे ।
उनी चाँडै प्रशिक्षणमा सामेल हुने संघले जनाएकोे छ ।
पहिलो दिन अन्जु श्रेष्ठ र कुमार राईले टोलीलाई प्रशिक्षण दिएका थिए ।
प्रशिक्षण जेठ २१ गतेबाट सुरु गर्ने तयारी रहेपनि पुनः थपिएको निषेधाज्ञाका कारण भलिबलकाे बन्द सत्र स्थगित भएको थियो ।
भलिबल संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको हो ।
संघले सहभागी खेलाडी र आवश्यक अफिसियलको यसअघिनै पिसीआर गरेको थियो ।
संघले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेर प्रशिक्षण गराउने संघकी उपाध्यक्ष निरोज मास्केले बताईन् ।
पहिलो दिनको प्रशिक्षण क्रममा बोल्दै कप्तान अरुणा शाहीले पहिलो पटक एसिया कप खेल्नु अवसर रहेको उल्लेख गर्दै प्रतियोगिता खेल्न पाउँदा भाग्यमानी महशुश गरेको बताईन् ।
‘एसिया कप खेल्नु राम्रो अवसर हो । पहिलो पटक सहभागीता हुँदैछाै। हामीले आफुलाई भाग्यमानी सोचेका छौं ।’ अरुणाले भनिन् ।
उनले ठुला टोलीविरुद्ध पदक भन्दापनि खेल्न र अनुभव साट्न पाउनुनै अवसर रहेको बताईन् ।
टोलीकी उपकप्तान प्रतिभा भालीले एसिया कप ठुलो अवसर रहेको उल्लेख गर्दै आफुहरु खेल्नका लागि तयार रहेको बताईन् ।
प्रशिक्षणमा परेका खेलाडी –
आर्मी क्लब – सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो
न्यु डायमण्ड – प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य
नेपाल पुलिस – उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द
एपीएफ – सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी
भरतपुर – सरस्वती कट्टेल
हेर्नुस पहिलाे दिनकाे अभ्यास,