काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमको बन्द प्रशिक्षण आजबाट (मंगलबार) सुरु हुँदैछ ।
फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमले मंगलबारबाट प्रशिक्षण थाल्न लागेका हुन् ।
एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।
नेपाल भलिबल संघ (एनभीए) ले टिमको बन्द प्रशिक्षण त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने जनाएको छ । कोरोना महामारीलाई मध्येनजर गर्दै सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर प्रशिक्षण गरिने संघले जनाएको छ ।
यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि स्थगित गरेको थियो ।
संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।
संघका उपाध्यक्ष निरोज मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ ।
संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ ।
संघले बोलाएको प्रारम्भिक टिममा बिनिता बुढाथोकी र नेविका चौधरी परेकी छैनन् । आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन् ।
न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् ।
संघले बैकल्पिक खेलाडीमा भतरपुरकै आरती सुवेदी, निशा चौधरी, डायमण्डकी प्रगती नाथ, ढोरपाटनबाट पुष्पा शाही र नेपाल पुलिसबाट पुष्पा चौधरीलाई राखेको छ ।
प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।
बन्द प्रशिक्षणमा परेका खेलाडी –
आर्मी क्लब – सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो
न्यु डायमण्ड – प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य
नेपाल पुलिस – उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द
एपीएफ – सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी
भरतपुर – सरस्वती कट्टेल