काठमाडौं । नेपाल भलिबल संघ (एनभीए) ले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि असार १ गतेबाट टिमको बन्द प्रशिक्षण सुरु गर्ने भएको छ ।
भलिबल संघका उपाध्यक्ष तथा नेपाली टिम व्यवस्थापक निरोज मास्केले महिला टिमको प्रशिक्षण मंगलबारबाट सुरु हुने जानकारी गराईन् ।
‘यस अघिनै गर्ने तयारी भएको अभ्यास सत्र मंगलबारबाट सुरु गर्नेछौं । जसका लागि खेलाडीको कोरोना परिक्षण (पीसीआर) समेत भईरहेको छ ।’ मास्केले खेलपाटीसँग भनिन् ।
यस अघि जेठ २१ गतेबाट सुरु गर्ने भनिएको प्रशिक्षण निषेधाज्ञाका कारण सबै खेलाडी काठमाडौं आईनपुग्दा संघले प्रशिक्षण केहि समयका लागि स्थगित गरेको थियो ।
प्रशिक्षणमा डाकिएका सबै खेलाडीको पीसीआर सकिएपछि होटलमा राखेर तयारी गर्ने उनले जानकारी गराईन । मास्केले अहिलेसम्म पीसीआर गरेका सबै खेलाडीको रिपोर्ट नेगेटिभ आएको समेत जानकारी दिईन ।
त्रिभुवन आर्मी, न्यु डायमण्ड, एपीएफका खेलाडीको पीसीआर गरिरहेको छ । पुलिस क्लबमा आबद्द भएका खेलाडीको पीसीआर भोलि हुनेछ ।
संघले चैतमा सम्पन्न पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्ने ३० खेलाडीलाई प्रशिक्षणमा बोलाएको छ ।
मास्केसहित नेपाली टिमका प्रशिक्षक जगदिश भट्ट र प्रज्वल बहादुर सिंहको छनोट समितिले ३० खेलाडी छनोट गरेको हो । जसमा पाँच बैकल्पिक खेलाडी समेत राखिएको छ ।
संघले टिमको मुख्य प्रशिक्षकको जिम्मेवारी भट्ट तथा र ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठलाई दिएको छ ।
संघले बोलाएको प्रारम्भिक टिममा बिनिता बुढाथोकी र नेविका चौधरी परेकी छैनन् । आर्मीका कप्तान कृपा अधिकारीले २ वर्षपछि राष्ट्रिय टोलीको प्रारम्भिक टिममा स्थान बनाएकी छिन् ।
न्यु डायमण्ड स्पोर्ट्स क्लबका बाल्मिका आचार्य, झरना श्रेष्ठ, रिया कुँवर र रिमा कुवँर पहिलो पटक बन्द प्रशिक्षणमा परेका हुन् ।
संघले बैकल्पिक खेलाडीमा भतरपुरकै आरती सुवेदी, निशा चौधरी, डायमण्डकी प्रगती नाथ, ढोरपाटनबाट पुष्पा शाही र नेपाल पुलिसबाट पुष्पा चौधरीलाई राखेको छ ।
प्रशिक्षणमा आर्मीबाट सर्वाधिक ८ खेलाडी पर्दा डायमण्ड, पुलिस र एपीएफबाट समान ७–७ खेलाडी परेका छन् । यस्तै भरतपुर मेट्रोबाट एक खेलाडी परेका छन् ।
बन्द प्रशिक्षणमा परेका खेलाडी –
आर्मी क्लब – सोफिया पुन, सुनिता खड्का, जानकी भण्डारी, शान्ति थारु, सरस्वती जैसी, कृपा अधिकारी, सृष्टि खड्का, संगम महतो
न्यु डायमण्ड – प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, रिया कुवँर, रिमा कुँवर , झरना श्रेष्ठ, बाल्मिका आचार्य
नेपाल पुलिस – उषा भण्डारी, कमला पुन, पुनम चन्द, कामना बिष्ट, मनिषा चौधरी, शान्तिकला तामाङ, लक्ष्मी चन्द
एपीएफ – सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा कुमारी बिष्ट, हिरा केसी, रेश्मा भण्डारी, कविता भट्ट, पुजा चौधरी
भरतपुर – सरस्वती कट्टेल