काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउदैछ ।
एसियाको वेष्ट जोन र इष्ट जोनबाट कुनै पनि राष्ट्रले सहभागिताको लागि दाबी नगरेपछि नेपालले सेन्ट्रल जोनबाट च्याम्पियनसिप खेल्ने अवसर पाएको हो ।
दुई क्षेत्रबाट नाम नआएपछि नेपाल भलिबल संघ (एनभिए) ले नेपालको नाम एसियाली भलिबल कम्फेडेरेसन (एभिसी) लाई पठाएको थियो । र, नेपालले च्याम्पियनसिप खेल्न स्वीकृति पाएको थियो ।
एभिसी सेन्ट्रल जोनको उपाधि र १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा रजक पदक जितेर नयाँ इतिहास कोरेको नेपाली महिला भलिबल टोलीले पहिलो पटक एसियन च्याम्पियसिप खेल्ने मौका पाएको हो ।
एभिसीले पछिल्लो पटक सार्वजनिक गरेको तालिका अनुसार एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुनेछ ।
तर, नेपालले ठुला प्रतियोगिताको लागि अझै बन्द प्रशिक्षण सुरु गरेको छैन ।
नेपाल भलिबल संघले बैशाखबाट प्रतियोगिताको तयारी सुरु गर्ने जनाएको थियो । यस्तै पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब लिग भलिबल च्याम्पियनसिपबाट खेलाडी छनोट गरिने बताएको थियो ।
तर, कोरोना भाईरसको दोस्रो लहरको महामारीसँगै सरकारले बैशाख १६ गतेबाट लगाएको निषेधाज्ञाको कारण टिमको प्रशिक्षण प्रभावित भएको हो ।
राष्ट्रिय खेल भलिबलको सर्वोच्च निकाय नेपाल भलिबल संघले भने टिमको तयारीमा कोरोनासँगै आर्थिक समस्या बाधक बनेको जनाएको छ ।
संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा अमेरिका गएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका याम गुरुङले आर्थिक कारण तयारी सुरु गर्न नसकिएको बताए ।
'राखेपका सदस्य सचिबबाट मौखिम रुपमा स्वीकृत पाएका छौँ । मुख्य कुरा आर्थिक नै हो । त्यो जुटाउनु पर्छ । हामी चाडै बैठक बसेर तयारी सुरु गर्छौं,' गुरुङले भने ।
संघका सचिव मानविर छन्त्यालले भने कोरोनाको कारण प्रशिक्षण थालन नसकिएको बताए ।
‘निषेधाज्ञाको कारण तयारी सुरु हुन पाएन । हामी चाडैनै तयारी गर्नेछौं । अब, संघको चाडै मिटिङ बसेर प्रशिक्षणलाई अगाडी बढाउनेछौं ।’ सचिव छन्त्याल भन्छन् ।
राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाहीले टिमको प्रशिक्षण चाडै सुरु होस् भन्ने चाहना खेलाडीमा भएको बताए ।
‘अब धेरै समय छैन । चाडै प्रशिक्षण सुरु भए राम्रो हुने थियो । हाम्रो चाहना पनि चाडै प्रशिक्षण सुरु होस भन्ने छ ।’ नेपाललाई एभिसी सेन्टर जोनको उपाधि दिलाएकी अरुणाले भनिन् ।
च्याम्पियनसिपमा नेपाल सहित १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । यस च्याम्पियनसिपलाई सन् २०२२ को विश्व च्याम्पियनसिपको छनोटको रुपमा समेत हेरिएको छ ।
यो पनि ...
एसियन भलिबल च्याम्पियनसिप फिलिपिन्समा हुने