काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नेपाल बक्सिङ संघको वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको छ ।
राखेपले शुक्रबार संघलाई पत्र पठाउदै वार्षिक साधारणसभा रोक्न निर्देशन दिएको हो ।
कोरोनाको महामारीको कारण गरिएको बन्दाबन्दीलाई मध्येनजर गर्दै राखेपको पूर्व स्वीकृति नलिई गर्न लागिएको साधारणसभा अर्को निर्देशन प्राप्त नभएसम्म स्थगित गर्न पत्रमा भनिएको छ ।
'परिषदको पूर्व स्वीकृति नलिई गर्न लागिएको त्यस संघको साधरणसभा राष्ट्रिय खेलकुद विकास ऐन २०६६ को दफा २८ (ङ) को बमोजिम परिषदबाट अर्को निर्देशन प्राप्त नभएसम्मका लागि स्थगित गरि सो जानकारी राखेपलाई जानकारी गराउन निर्देशानुसार अनुरोध छ,' राखेपको संघ संस्था समन्वय शाखाका प्रमुख सरोज कुमार पोखरेलले हस्ताक्षर गरिएको पत्रमा भनिएको छ ।
बक्सिङ संघले गत वैशाख ३० गते साधारणसभाका लागि सूचना निकालेको थियो । सूचना अनुसार साधारणसभा जेठ २० गते बोलाईएको थियो ।
संघले कोरोनको कारण साधारणसभा भर्चुअल हुने बताएको थियो ।
तर, सोही संघको साधारणसभा परिषद्लाई जानकारी नै नदिई गर्न लागिएको भन्दै राखेपले रोक्न निर्देशन दिएको हो ।