काठमाडौं । शुक्र बहादुर राई र सन्जय लामाले सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिताको पहिलो दिन संयुक्त अग्रता बनाएका छन् ।
पोखराको हिमालयन गल्फ कोर्स मंगलबार एक अन्डर ६८ स्कोर कार्डसहित शुक्र र सन्जयले संयुक्त अग्रता बनाएका हुन् ।
बल भद्र राईले पहिलो दिन इभन पार ६९ स्कोर बनाए । भुवन नगरकोटी र एमेच्योर खेलाडी सुवास तामाङले एक ओभर ७० स्कोर बनाए ।
विनोद तामाङ र सुर्य प्रसाद शर्माले २ ओभर ७१ स्कोर जोडे । साविक विजेता धन बहादुर थापा, निरज तामाङ, बसन्त राज गुरुङ, भुवन कुमार रोक्का र एमेच्योर रितेश तामाङले ३ ओभर ७२ स्कोर बनाएका छन् ।
प्रतियोगितामा ३७ प्रोफेसनल र १४ एमेच्योर गरि ५१ गल्फरको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले १ लाख ३० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८४ हजार तथा तेस्रोले ६० हजार पाउनेछन् ।