काठमाडौं । पूर्व सचिव अर्जुन कार्कीले नेपाल चेम्बर गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जितेका हुन् ।
स्टेबल फोर्ड ३/४ ह्यान्डीक्याप फर्म्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि जिते ।
३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बने ।
महिलातर्फको उपाधि गीता गुरुङले जितिन् । उनले ३८ स्कोर बनाईन । रेखा घिमिरे ३५ स्कोरसहित उपविजेता बनिन् ।
सिनियर पुरुषतर्फको उपाधि जनरल गौरव शमशेर राणाले जिते । दिलिप जंग राइमाझी उपविजेता बने ।
च्याम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्र कुमार कार्की भए ।
प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेश कुमार सिंहले जिते । लङ्गेस्ट ड्राइभको उपाधि सन्जिब आचार्यले जित्दा क्लोजेष्ट टु पिनको उपाधि तेज बहादुर राईले जिते ।
नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको दुई दिने प्रतियोगिता ८८ जना खेलाडीको सहभागिता रहेको थियो ।
नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिकोत्सवको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो ।
विजेता तथा उपविजेताहरूलाई प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले आउँदा वर्षहरूमा ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ लाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरिने बताए । उहाँले गल्फ लगायत खेलकुदमार्फत पर्यटनको विकासमा सरकारसँग हातेमालो गर्न निजी क्षेत्र तयार रहेको बताए ।
प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले गल्फ लगायतका खेल अर्थतन्त्रसँग जोडिएकाले पर्यटन प्रबर्द्धनमार्फत् वैदेशिक मुद्रा आर्जन गर्न सक्ने बताए ।
रोयल नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डमान श्रेष्ठले नेपाललाई गल्फ पर्यटनको केन्द्र बनाउन सकिने बताए ।