नमिन ढकाल
इलाम । विर्तामोडको विमान ट्रेडर्सले इलाममा जारि दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
बिहीबार डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विमान ट्रेडर्सले पहिलो जित निकालेको हो ।
ठूलो टुडिखेल मैदानमा भारतीय खेलाडी सम्मिलित विमानले गण्डकीलाई २५–२०, २५–२३ र २५–२३ को सेटमा पराजित गर्यो ।
बिहीबार नै भएको खेलमा विभागीय टोली एपीएफले दमक नगर भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ ।
एपीएफले दमकमाथि २५–२१, २२–२५, २५–११ र २५–१९ को सेटमा जित निकालेको हो ।
अर्को विभागीय टोली त्रिुभवन आर्मीले समेत दोस्रो जित निकालेको छ । गौरादह झापाविरुद्ध आर्मीले ३–२ को सेटमा जित निकाल्यो ।
पहिलो सेट २५–२० ले जितेको आर्मीले दोस्रो र तेस्रो सेट क्रमशः २२–२५ र २३–२५ ले हार्न पुग्यो । २–१ ले पछि परेको आर्मीले उत्कृष्ट पुनरागमन गर्दै बाँकी २ सेट आफ्नो पक्षमा पार्न सफल रहयो । आर्मीले २५–१४ र १५–८ ले खेल जित्यो ।
समूह ‘ए’ बाट हेड टु हेडको आधारमा दुबै खेलमा जितका साथ आर्मी ४ अंकका साथ शीर्ष स्थानमा छ ।
विमान २ खेलमा १ मा हार र १ मा जित सहित ४ अंकका साथ दोस्रो स्थानमा छ । गण्डकी प्रदेश २ खेलमा १ मा जित र १ मा हार सहित ३ अंकका साथ तेस्रो स्थानमा छ । गौरादह दुबै खेलमा हारका साथ १ अंक बटुल्दै पुछारमा छ ।
अब शुक्रबार हुने लिगको अन्तिम खेलबाट नै समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ । शुक्रबार आर्मीले गण्डकीको तथा बिमानले गौरादहको सामना गर्दैछ ।
समूह ‘बी’ बाट एपीएफ २ खेलबाट ५ अंकका साथ शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । पुलिस १ अंकका साथ दोस्रो र दमक अंक विहिन हुँदै पुछारमा छ ।