काठमाडौं । भुवन नगरकोटीले सुर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।
गोकर्ण गल्फ क्लबमा बिहीबार एमेच्योर गल्फर सुबास तामाङलाई पछि पार्दै भुवन च्याम्पियन बनेका हुन् ।
उपाधि जित्ने क्रममा भुवनले कुल ७ अन्डर २ सय ८१ स्कोर बनाए । दोस्रो भएका दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सुबासले ६ अन्डर २ सय ८२ स्कोर बनाए ।
उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे । एमेच्योर खेलाडी भएकोले सुबासले ट्रफी प्राप्त गरे ।
शुक्र बहादुर राईले २ अन्डर २ सय ८६ स्कोर जोड्दै तेस्रो स्थान हात पारे । प्रोफेसनलमा दोस्रो भएका उनले ८४ हजार प्राप्त गरे ।
चौंथो स्थान तथा प्रोफेसनलमा तेस्रो भएका सन्जय लामाले ६० हजार पाए । प्रोफेसनलतर्फ चौंथो भएका रबि खड्काले ५० हजार पाउँदा पाँचौ भएका राजेन्द्र श्रेष्ठ प्रधान र दिपक मगरले समान ३९ हजार ७ सय ५० प्राप्त गरे ।