इलाम । दोस्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् ।
जिल्ला भलिबल संघको आयोजनामा इलामको ठुलो टुडिखेलमा बुधबार भएको उद्घाटन खेलमा आर्मीले ३ भारतीय राष्ट्रिय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडलाई ३–२ को सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा आर्मी २५–१७, १८–२५, २५–१८, २१–२५ र १५–८ ले बिजयी बन्यो ।
लिक कम नकआउटको आधार संचालित प्रतियोगिताको पहिलो सेट आर्मीले सहजै जित निकाल्यो । २५–१७ ले विमान ट्रेडर्स पछाडी परेको थियो । तर दोस्रो सेटमा भने विमान ट्रेडर्सले आर्मीलाई १८–२५ ले हरायो । तेस्रो सेटमा आर्मी २५–१८ ले विजयी हुँदा चौथो सेट २१–२५ ले गुमाएको थियो । निर्णायक पाँचौ सेट आमीले १५–८ को सहज जितका साथ उपाधि यात्रालाई सहज बनायो ।
विभागीय डर्बी रहेको अर्को खेलमा एपीएफले पुलिसलाई ३–२ को सेटमा पराजित गर्यो । एपीएफले २६–२४, २५–२२ ले सुरुवाती २ सेट जितेको थियो । तर तेश्रो र चौथो सेट १८–२५. १६–२५ ले एपीएफ पछि पर्दा निर्णायक पाँचौ सेट १५–१० आफ्नो पक्षमा पार्दै विजयी सुरुवात गरेको हो ।
समूह ’ए’ को दोस्रो खेलमा डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेशले गौरादह नगर खेलकुद बिकास समितिलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
गण्डकीले २६–२४, २५–२१, २५–२१ ले हराउँदै विजयी सुरुवात गरेको हो ।
प्रतियोगितामा ७ टोलीको सहभागिता छ । लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुने टोलीले १ लाख तथा तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ हात पार्नेछन् ।
प्रतियोगिता १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन एवम सामाजिक विकास मन्त्री हिक्मतले कार्कीले मुख्य निर्णायकलाई बल हस्तान्तरण गर्दै खेलको उद्धघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै कार्कीले जग्गा व्यवस्थापन गरे इलाममा भलिबलको कभर्डहल र कोर्ट बनाउन प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले कभर्डहल र भलिबल कोर्ट बनाउनका लागि जग्गा व्यवस्थापन गर्न इलामा नगरपालिका र जिल्ला समन्वय समितिलाई आग्रह गरे ।