इलाम । दोस्रो इलाम आमन्त्रित लिग पुरुष भलिबल प्रतियोगिता भोलिबाट सुरु हुँदैछ ।
इलाम सदरमुकामको ठूलो टुडिखेलमा हुने प्रतियोगितामा ७ टिमको सहभागिता रहेको छ ।
चैत ७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका राष्ट्रिय स्तरका खेलाडीको सहभागिता हुने आयोजक इलाम जिल्ला भलिबल संघले जनाएको छ ।
प्रतियोगितामा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, विमान ट्रेडर्स विर्तामोड, गौरादह र दमक नगर भलिबल क्लबको सहभागिता रहने जिल्ला भलिवल संघका अध्यक्ष डाक प्रसाद गौतमले जानकारी दिए ।
विमान ट्रेडर्सबाट भारतको दिल्ली, दमकबाट कोलकोत्ता र गौरादहबाट हरियाणाका खेलाडीहरुले खेल्ने छन् ।
प्रतियोगिताको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैया र ट्रफी प्राप्त गर्ने छन् ।
लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १२ खेलहरु हुने छन् ।
पहिलो संस्करणको उपाधि गण्डकी प्रदेशले जितेको थियो ।