काठमाडौं । सुर्य नेपाल गल्फ टुर अन्तर्गतको सिजनको पहिलो प्रतियोगिता सुर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको दोस्रो दिन भुवन नगरकोटीले अग्रता कायम राखेका छन् ।
गोकर्ण गल्फ क्लबमा मंगलबार भुवनले ५ स्ट्रोकको अग्रता बनाएका हुन् । दोस्रो दिन ३ अन्डर ६९ स्कोर जोडेका भुवनले कुल ११ अन्डर १ सय ३३ स्कोर बनाएका छन् ।
शुक्र बहादुर राई ६ अन्डर १ सय ३८ स्कोरसहित दोस्रो स्थानमा छन् ।
दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता एमेच्योर गल्फर सुबास तामाङले ५ अन्डर १ सय ३९ स्कोर जोडेर तेस्रो स्थानमा रहेका छन् । उनले दोस्रो दिन २ अन्डर ७० स्कोर बनाए ।
दोस्रो दिनको खेल पछि २२ व्यावसायिक र ७ एमेच्योर गल्फरले दोस्रो चरणमा स्थान बनाएका छन् ।
प्रतियोगिताको विजेताले १ लाख २३ हजार नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले ८४हजार तथा तेस्रोले ६० हजार पाउनेछन् । त्यसबाहेक शीर्ष २१ मा रहने खेलाडीहरुले पनि नगद पुरस्कार पाउने बताईएको छ ।