काठमाडौं । पोल्याण्डमा आयोजना हुने एआईबीए युथ मेन्स एण्ड वुमेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ ।
च्याम्पियनसिप आगामी अप्रिल ११ देखि २३ सम्म पोल्याण्डको किसि शहरमा हुनेछ ।
नेपाल बक्सिङ संघले च्याम्पियनसिपमा नेपालको सहभागिता रहने जनाएको छ ।
संघले च्याम्पियनसिपका लागि खेलाडी छनोट प्रतियोगिताको आयोजना गर्ने समेत जनाएको छ ।
नेपालले च्याम्पियनसिपका लागि महिला ४६-४८ केजी तौल समूह र महिला ६० केजी तौल समूहको राष्ट्रव्यापी खुल्ला छनोट प्रतियोगिता गर्ने जनाएको छ ।
छनोट खेल चैत ३ गते सातदोबाटोस्थित राष्ट्रिय बक्सिङ हलमा हुने संघले जनाएको छ ।
उक्त खुल्ला छनोट खेलमा जनवरी १,२००२ देखि डिसेम्बर ३१, २००३ सम्म जन्म भएका महिला बक्सिङ खेलाडीहरुले मात्र सहभागिता जनाउन सक्ने छन्।
सहभागी खेलाडीले आफ्नो जन्मदर्ता प्रमाणपत्र सहित चैत ३ गते बिहान ८ बजे सम्म तौल र स्वास्थ्य परिक्षण गर्न सातदोबाटो स्थित राष्ट्रिय बक्सिङ हलमा उपस्थित हुनु पर्ने संघले जनाएको छ ।