नेपालगञ्ज । सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् ।
नेपालगन्ज रंगशालामा जारी प्रतियोगितामा समान तीन तीन जित निकाल्दै एपीएफ र पुलिसले फाइनलमा भेट पक्का गरेका हुन् ।
सोमबार भएको खेलमा एपीएफले होंगान्जी न्यु डायमन्ड क्लबलाई ३-१ सेटले पराजित गरेको हो ।
पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जितेको थियो । त्यसपछिको सेट एपीएफले लगातार जित निकाल्यो । एपीएफले न्यू डायमण्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित गर्यो ।
बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा पुलिसले त्रिभुवन आर्मीलाई ३-१ ले पराजित गर्यो ।
पहिलो सेट गुमाएर पनि पुलिसले कमब्याक गरेको थियो । पहिलो सेट आर्मीले २५–१५ मा जितेको थियो । दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो ।
तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि त्यसलाई कायम राख्न नसक्दा आर्मी पराजित हुन पुग्यो ।
आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो । १९ अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो । यो सेटमा पुलिस २७–२५ ले विजयी भयो । चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो ।
प्रतियोगिताको विजेताले रु पाँच लाख, उपविजेताले दुई लाख, तेस्रो हुनेले एक लाख नगद पाउने छन् ।