काठमाडौं । अटो स्पोर्ट्स जिमखाना खेलबारे सायदै मान्छे जानकार होलान् ।
तर, नेपालमा यस खेलको सम्भावना खोज्ने प्रयास भने सुरु भएको छ ।
अटो स्पोर्ट्स जिमखानाकी एकमात्र महिला खेलाडी हुन्, जिस्वन तुलाधार ।
उनी एक अन्तराष्ट्रिय महिला खेलाडी मात्र नभएर दुई सन्तानकी आमा पनि हुन् ।
श्रीमान तथा परिवारको साथ पाएकी उनी अटो स्पोर्ट्स जिमखानाको विस्तार होस भन्ने चाहन्छिन् ।
डेब्यु प्रतियोगितामा नेपाललाई कास्य पदक जिताएकी उनी यस खेललाई निरन्तरता दिने सोचमा छिन् ।
के हो अटो स्पोर्ट्स जिमखाना ?
मोटर स्पोर्ट्सको धेरै विधा मध्य नेपालले पदक ल्याउन सक्ने खेल हो अटो स्पोर्ट्स जिमखाना । अटो स्पोर्ट्स जिमखानाको नेपालमा सम्भावना देखिन्छ ।
मोटर स्पोर्ट्स जिमखाना महँगो खेल हो । सामान्य मानिसको पहुँचबाट बाहिर छ । मोटर स्पोर्ट्स जिमखाना भन्दा सबैले गाडी चलाउने वा रेसिङ भन्ने सोच्छन् तर यस्तो हैन ।
सीमित क्षेत्रभित्र नीति नियमअनुसार जसले कम समयमा कुनै पनि झण्डा नखाई छोटो समयमा दुरी पुरा गर्छ, उहीँ प्रतियोगिताको विजेता हुन्छ । यस प्रतियोगितामा कालो र पहेंलो झण्डा हुन्छ, जुन यस खेलमा नराम्रो मानिन्छ । आपतकालीन अवस्थामा पनि आफुलाई जोगाएर कतिबेला ब्रेक हान्ने, कतिबेला पिकअप लिने भन्ने ज्ञान दिन्छ ।
जिस्वनले सन् २०१७ मा पहिलोपटक अटो स्पोर्ट्स जिमखानामा सहभागी भएकी थिईन् । प्रतिस्पर्धा भन्दापनि उनी अनुभव गर्नका लागि सहभागी भएकी थिईन् । उनलाई खेलको बारेमा केही थाहा थिएन । जब उनले यस खेलमा महिलाको सहभागीता कम हुने र खेलको बारेमा राम्रोसँग बुझिन्, त्यसपछि खेल्ने निर्णय गरिन् ।
सो प्रतियोगितामा उनको प्रर्दशन राम्रो भएपछि जिस्वन अन्तराष्ट्रिय प्रतियोगिताकालागि थाइल्याण्ड जाने तय भयो ।
प्रतियोगितामा पहिलोपटक महिलाको प्रतियोगिता गराइएको थियो । जिस्वनको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो । उनले डेब्यु प्रतियोगितामानै नेपाललाई कास्य पदक दिलाईन् । उनले सो पदक एसीडीसीमा जितेकी थिईन् ।
‘थाईल्याण्डको भ्रमण धेरै रमाइलो तथा राम्रा कुराको अनुभव लिन सके । बाहिरका खेलाडीबाट नयाँ प्राविधिक तथा शैली सिक्न पाए ।’
उनले सन् २०१८ को डिसेम्बरमा इन्डोनेसियामा भएको अन्तराष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाईन् । उनी विगत ४ वर्षदेखि यस खेलमा लागिरहेकी छिन् ।
पर्यटन व्यवसाय समेत सम्हालेकी जिस्वनलाई यस खेलमा लाग्न कहिल्यै अप्ठ्यारो भएन । तर सरकारी ढाडस पाउन नसक्दा राम्रो नतिजा आउन नसकेको बताउँछिन् ।
‘बाहिरी देशमा खेलाडीलाई सुविधाहरु धेरै हुन्छ । उनीहरुलाई सरकारले संरक्षण गरेर राखेको हुन्छ । सिक्नकालागि आफ्नै एउटा गाडी हुन्छ तर हाम्रो यहाँ आफ्नै गाडी दाउमा राखेर अभ्यास गर्नुपर्छ । सरकारले यस खेललाई वास्ता गरेदेखि नतिजा राम्रो आउने थियो ।’
‘विदेशमा महिला र पुरुष दुवै खेलाडीलाई सहयोग गरेर आर्थिक रुपमा पनि बलियो बनाईन्छ तर नेपालमा छैन । यहाँ सबै लगानी आफैले गर्नुपर्छ । एउटा ड्रेस तथा जुत्ता किन्नलाई १४–१५ सय डलर पर्छ । धेरै महँगो हुन्छ । जाँदाको खर्च पनि आफैले गर्नुपर्छ । त्योभन्दा ठूलो कुरा आफ्नै गाडी खतरामा राखेर चलाउनु पर्ने हुन्छ ।’ जिस्वनले भनिन् ।
उनले थपिन्, ‘यो खेल एकदम ओझेलमा छ । सबैभन्दा दुखलाग्दो विषय भनेको नेपालमा आफ्नै देशको गाडी छैन । एउटा मुस्ताङ गाडी थियो तर त्यो पनि त्यति राम्रो छैन ।’
सम्भावना कति ?
अटो स्पोर्ट्स जिमखाना महँगो खेल मानिन्छ । यस खेललाई जो कोहीले खेल्ने आँट नगर्ने तुलाधर बताउँछिन् ।
‘यो धेरै महँगो खेल भएकाले आर्थिक रुपमा बलियो हुने व्यक्ति मात्र खेल्न आएका छन् । सबैले खेल्न सक्ने स्थिती पनि छैन ।’ उनी भन्छिन् ।
तरपनि तुलाधर नेपालमा यस खेलको सम्भावना धेरै देखेको बताउँछिन् ।
‘यस खेलको सम्भावना नेपालमा धेरै छ । यहाँका कच्ची बाटोमा चालकहरुले सुरक्षित रुपमा कति राम्ररी गाडी चलाउछन् ।’ उनले भनिन् ।
उनले त्यस प्रकारका सवारी चालकलाई आर्थिक रुपमा सहयोग गर्न सके नेपालले अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्णपदक जित्ने सम्भावना अधिक रहेको बताइन् ।
‘यदि त्यस्ता चालकलाई आर्थिक रुपमा सहयोग गरेर अन्तराष्ट्रिय रुपमा प्रचार गर्न सकेमा विजेता बन्नेछन् । बाहिरका खेलाडी त केही हैन । राम्रा खेलाडी नेपालमै छन् ।’ उनले थपिन् ।