काठमाडौं । पाँचौं संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलको विजेताले ३ लाख नगद प्राप्त गर्ने भएका छन् ।
नेपाल भलिबल संघले बिहीबार पत्रकार सम्मेलन गर्दै चैतमा आयोजना हुने लिगको महिला र पुरुष विजेताले ३ लाख पाउने जनाएको छ ।
संघले यस पटकको पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । यस अघि विजेताले २ लाख ५० हजार पाएका थिए ।
यस्तै उपविजेताले १ लाख ५० हजार प्राप्त गर्दा तेस्रोले ७६ हजार र चौंथोले ३७ हजार ५ सय पाउने संघले जनाएको छ ।
यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीले जनही २५ हजार पाउने छन् ।
उत्कृष्ट लिबेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १० हजार पाउने छन् ।
राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता चैत १९ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ ।
प्रतियोगितामा पाँचौ आरबीबी एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपमा उत्कृष्ट भएका ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
उक्त च्याम्पियनसिपमा पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलातर्फ एपीएफ क्लबले उपाधि जितेको थियो ।
लिगमा महिलातर्फ एपीएफ, आर्मी, पुलिस, न्यु डाइमण्ड, ढोरपाटन र भरतपुर मेट्रो खेलकुद परिषद प्रतिस्पर्धा गर्ने छन् ।
पुरुषतर्फ एपीएफ, आर्मी, पुलिस, बुलबुले रारा, हेल्प नेपाल, बुद्धटोल भलिबल टिम, नयाँ बजार, मणिमुकुन्दले प्रतिस्पर्धा गर्ने छन् ।
लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरि कुल ४३ खेल हुनेछ ।
लिगको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछन् ।
यस अघि लिग गत वर्षको बैशाख २५ देखि जेठ १ गतेसम्म हुने तालिका रहेको थियो । तर, कोरोना महामारीको कारण लिग स्थगित गरिएको थियो ।
यस लिगबाट चीनमा आयोजना हुने एसियन च्याम्पियनसिपको लागि महिला टोलीको छनोट गरिनेछ । जसमा ३० खेलाडीहरु छनोट हुनेछन् ।
यस्तै प्रतियोगितामा सहभागी खेलाडी र अफिसियलको इन्सुरेन्स गरिने संघले जनाएको छ ।
कार्यक्रममा बोल्दै राष्ट्रिय वाणीज्य बैंकका सिईओ किरण श्रेष्ठले भलिबलसँग सहकार्य गर्न पाउदा खुसी भएको बताए ।
उनले भलिबलसँग आगामी दिनमा समेत सहकार्य हुने बताए ।
मुख्य प्रायोजन वापत बैंकले संघलाई १२ लाख उपलब्ध गराउदै आएको छ ।