पोखरा । विधान स्पोर्ट्स हाउस र अर्चलबोटले स्वर्गीय महेश खड्का स्मृति कप क्लब स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
आइतबार सम्पन्न प्रतियोगिताको पुरुषतर्फ विधान र महिलातर्फ अर्चलबोट च्याम्पियन बनेको हो ।
पोखरा रंगशालामा भएको फाइनलमा गल्कोट बाग्लुङलाई ३-० को सोझो सेटमा पराजित गर्दै विधानले उपाधि जितेको हो ।
उपाधि जित्ने क्रममा विधानले गल्कोटमाथि २५-२०, २५-१८ र २५-२२ को सेटमा जित निकाल्यो ।
उपाधिसंगै विधानले ८० हजार प्राप्त गर्दा गल्कोटले ५० हजार प्राप्त गरेका छन् ।
महिलातर्फको फाइनलमा अर्चलबोटले यजु युथ क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्यो ।
महिलाको विजेताले २५ हजार र दोस्रोले १५ हजार प्राप्त गरे ।
प्रतियोगितामा विधानका घनश्याम चौधरी पुरुषतर्फ सर्वाेत्कृष्ट खेलाडी घोषित भए । उनी प्रतियोगिताको उत्कृष्ट सर्भर समेत चुनिए ।
विधानकै रवी सेन्चुरी उत्कृष्ट स्पाइकर, सुजन चोखाल उत्कृष्ट सेटर तथा पारसमान गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए ।
गल्कोटका राजु विक उत्कृष्ट क्विकर तथा गल्कोटकै दिपक मल्ल उत्कृष्ट ब्लकर चुनिए ।
महिलामा अर्चलबोटकी मनिषा तिलिजा सर्वाेत्कृष्ट खेलाडी बनिन् ।
यस्तै सनिशा राना उत्कृष्ट स्पाइकर, मिया पुन उत्कृष्ट सेटर, एसिला रोका उत्कृष्ट सर्भर र लक्ष्मी राना उत्कृष्ट डिफेन्डर चुनिए ।