काठमाडौं । यती समूहका प्रबन्ध निर्देशक स्वर्गीय आङछिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा 'आङछिरिङ शेर्पा स्मृति' गल्फ प्रतियोगिता हुने भएको छ ।
यती एयरलाइन्सको आयोजनामा प्रतियोगिता फागुन २१ र २२ गते गोकर्ण गल्फ क्लबमा आयोजना हुनेछ ।
यती समूहका संस्थापक एवम् वरिष्ठ पर्यटन व्यवसायी स्व. शेर्पाको दोस्रोे स्मृतिमा हुन लागेको प्रतियोगितामा देशभरका १ सय ५० खेलाडीले भाग लिने यती एयरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिए ।
यती एअरलाइन्सले आगामी वर्षमा उक्त प्रतियोगितालाई थप बृहत र व्यवस्थित बनाउँदै नेपालको सुदरपश्चिम देखि पूर्वसम्मका ऐतिहासिक एवं पर्यटकीय स्थलहरुमा प्रतियोगिता गर्दै लैजाने योजना लिएको छ ।
उक्त प्रतियोगितामा दर्ता शुल्कमार्फत संकलन भएको रकम सोही समय गैरनाफामुखी एवम् समाजसेवा गरिरहेको संस्थालाई हस्तान्तरण गरिने यती एयरलाइन्सले घोषणा गरेको छ ।

प्रतियोगितामा विजेता, उपविजेता, उत्कृष्ट ग्रस र ग्रस उपविजेता, महिला तर्फको विजेता, उपविजेता, भेट्रान तर्फका विजेता, जुनियर तर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ ।
प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै रु पाँच लाख धनरासी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताहरुले यती ग्रुपकै सञ्चालमा रहेका कम्पनी तथा रिसोर्टहरुले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।
जसमा एअर डाइनेस्टी, हिमालय एअरलाइन्स, यती एअरलाइन्स, तारा एअर, यती माउन्टेन होम, मोक्ष रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा रिसोर्ट र केर एण्ड डाउनी रहेका छन् । टुर्नामेन्टको मुख्य आयोजकको रुपमा यती एअरलाइन्स र गोकर्ण फरेस्ट रिसोर्ट रहेका छन् ।
यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २७ फेब्रुअरी २०१९ अर्थात् विस २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परेर निधन भएको थियो । स्व शेर्पालाई गल्फमा विशेष रुचि र लगाव थियो । नेपालको पर्यटन विकास तथा प्रवद्र्धनमा निकै महत्वपूर्ण योगदान दिएका स्व. शेर्पाको यस क्षेत्रमा छुट्टै छाप र परिचय रहेको थियो ।