काठमाडौं । पोखरामा जारी स्व. महेश स्मृति कप क्लब स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ विधान स्पोर्ट्स हाउस र गलकोट बाग्लुङले जित निकालेका छन् ।
पोखरा रंगशालामा बिहीबार विधानले कास्की जिल्ला भलिबल प्रशिक्षण केन्द्रलाई २५–१८ र २५–१९ ले पराजित गर्यो ।
गलकोट बाग्लुङले निरमाया दोहोरीलाई २५–१९ र २६–२४ ले हराएको छ ।
पुरुषतर्फ नै क्याङदीले मिलन युवा क्लबलाई २५–९ र २५–१८ ले पराजित गर्दा शान्त भलिब प्रशिक्षण केन्द्रले मट्टिखानलाई २५–८ र २५–२८ ले हराएको छ ।
त्यस्तै कुमि भलिबल क्लबले बाग्लुङलाई २५–१४ र २५–१८ ले तथा भुप गाइजले भुर्जुङखोला लाई १७–२५,२५–२१ र २५–१९ ले हराएको छ ।
महिलातर्फ अर्चलबोटले राष्ट्रिय माविलाई २५–१६ र २५–१२ ले पराजित गरेको आयोजकले जनाएको छ ।
युनाइटेड पोखरा क्लब कास्कीको आयोजनामा जारी प्रतियोगिताको पुरुषतर्फको विजेताले ८० हजार र दोस्रोले ५० हजार पाउने छन् ।
महिलाको विजेताले २५ हजार र दोस्रोले १५ हजार पाउने छन् ।
यस्तै विद्यागत पुरस्कार समेत समावेश गरिएको आयोजकले जनाएको छ ।
पूर्व भलिबल खेलाडी महेश खड्काको सम्झनामा प्रतियोगिता आयोजना गरिएको हो ।
उनले कलिलो उमेरमा नै स्थानीय, क्षेत्रीय हुँदै राष्ट्रिय भलिबल खेलेका थिए ।
स्याङ्जा जिल्लामा जन्मिएका खड्काको २०७५ भाद्र ३ गते २२ वर्षको उमेरमा निधन भएको थियो।