काठमाडौं । ढोरपाटन भलिबल क्लबको आयोजनामा मंगलबारबाट प्रादेशिक भलिबल रेफ्री कोर्स जारी छ ।
बसपार्कस्थित ढोरपाटनको मैदानमा संचालन भईरहेको कोर्समा विभिन्न जिल्लाका १ सय ५ रेफ्रीहरुको सहभागिता रहेको छ ।
नेपाल भलिबल संघको स्वीकृतिमा क्लबले कोर्सको आयोजना गरेको हो ।
कोर्सको मुख्य उदेश्य भलिबलका दक्ष जनशक्ति उत्पादन गर्नु रहेको छ ।
ढोरपाटन क्लबका अध्यक्ष तथा नेपाल भलिबल संघका सचिव मानवीर छन्त्यालले भलिबल विकासको लागि कोर्स सञ्चालन गरिएको बताए ।
‘भलिबल विकासको लागि दक्ष जनशक्ति अतिआवश्यक छ । जब गाउँगाउँमा रेफ्री र प्रशिक्षक पुर्याउन सकिन्न तबसम्म भलिबलमा विकास गर्न कठिनाई पर्छ । कोर्सको उदेश्य भलिबलमा दक्ष जनशक्ति उत्पादन गर्ने छ ।’ छन्त्यालले भने ।
अध्यक्ष छन्त्यालले विभिन्न कठिनाईका बाबजुत पनि कार्यक्रम सञ्चालन गर्न सफल भएको बताए ।
‘काम गर्न त गाह्रो छ । यो संघले गर्नुपर्ने हो, जिल्ला, प्रदेश वा केन्द्रीय संघले गर्नुपर्ने हो तर यसमा अनुभव भएकाले अझ राम्रो गर्न सक्छौं कि भन्ने हिसाबले गर्यौं,’ उनले भने, ‘काम गर्नलाई कठिनाई भएतापनि भलिबल विकासमा साथ दिन पाउदा निकै खुशी छौ ।’
भलिबल संघको साथ भएमा आउदो दिनमा पनि यसलाई निरन्तरता दिने उनले बताए ।
‘सबैले हामीलाई विश्वास गरेर यहाँ आउनुभएको छ । यदि नेपाल भलिबल संघले हामीलाई विश्वास गर्यो भने यसलाई निरन्तरता दिन्छौ,’ छन्त्यालले थपे, ‘भलिबल विकासको लागि अरुले गर्दा नि हामी खुशी हुनुपर्छ र हामीले गर्दा नि तपाईहरु खुशी हुनुपर्छ । सबैले हातेमालो गरे भलिबलको विकासतर्फ अघि बढ्नुपर्छ । ढोरपाटनको तर्फबाट के कति गर्न सक्छु गर्नेछु ।’
प्रादेशिक भलिबल रेफ्री कोर्समा अन्तराष्ट्रिय रेफ्री गौतम लासिबाले प्रशिक्षण दिईरेका छन् ।
यस्तै भिआइएसका संयोजक विजय बादे, एसियन रेफ्री विजय केसी र विकास गुरुङ तथा अन्तराष्ट्रिय रेफ्री कुल बहादुर रानाले पनि प्रशिक्षण दिने छन् ।
फिल्ड रेफ्रीमा खुम गाउले र अशोक थापा छन् ।
कोर्समा पूर्व भलिबल प्रशिक्षक कपिल श्रेष्ठले पनि कक्षा लिनेछन् ।
रेफ्री कोर्सको परीक्षा सैद्धान्तिक र व्यवहारिकको आधारमा लिइनेछ ।