पोखरा । तनहुँ जिल्ला र म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिताको उपाधि जितेका छन् ।
पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ म्याग्दी च्याम्पियन बनेका हुन् ।
पुरुषतर्फ उपाधि जित्ने क्रममा तनहुँले स्याङ्जालाई ३-२ को सेटमा पराजित गर्यो ।
रोमान्चक बनेको खेलको पहिलो सेट स्याङ्जाले २५-२३ ले जितेको थियो ।
दोस्रो र तेस्रो सेट तनहुँले २५-१७ र २५-२० ले आफ्नो बनायो । चौंथो सेट स्याङ्जाले २५-१३ ले आफ्नो बनायो ।
त्यसपछि अन्तिम तथा पाँचौ सेटमा १५-१० को जित निकाल्दै तनहुँले उपाधिमा कब्जा जमाएको हो ।
पुरुषतर्फ पर्वतले तेस्रो स्थान हासिल गरेको छ ।
तेस्रो स्थानको लागि भएको खेलमा पर्वतले म्याग्दीलाई २३-२५,२५-१४,२५-१७ र २७-२५ को सेटमा पराजित गर्यो ।
महिलातर्फ पर्वतलाई ३-० को सोझो सेटमा पराजित गर्दै म्याग्दी च्याम्पियन बनेको हो ।
म्याग्दीले पर्वतमाथि २५-१४, २५-१४ र २५-१७ को सोझो सेटमा जित निकाल्यो ।
तेस्रो स्थानको लागि शनिबार भएको खेलमा तनहुँले कास्कीलाई २५-१६, २२-२५, २५-१४ र ३०-२८ ले पराजित गरेको थियो ।
कास्की जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको उपाधि विजेता महिला र पुरुष टोलीले समान २/२ लाख र ट्रफी पुरस्कार प्राप्त गरे ।
यस्तै उपविजेता बनेको टोलीले १/१ लाख प्राप्त गर्दा तेस्रो भएको टोलीले ५०/५० हजार प्राप्त गरेका छन् ।