पोखरा । गण्डकी प्रदेशमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय भलिबल प्रतियोगिताको पुरुष स्पर्धाको फाईनलमा तनहुँ र स्याङ्गजा भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा स्याङ्गजाले पर्वत र तनहुँले म्याग्दीलाई समान ३–१ को सेटमा हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् ।
पहिलो खेलमा स्याङ्गजाले पर्वतलाई २५–२०, २५–१७, २७–२५ र २५–१७ को सेटमा जित निकाल्यो । दोस्रो खेलमा पहिलो सेटमा २१–२५ ले गुमाएपनि लगातार तीन सेट जित्दै तनहुँ फाईनल प्रवेश गर्यो ।
दोस्रो सेट ३२–३० को प्रतिस्पर्धात्मक जित निकालेको तनहुँले तेस्रो सेट २५–१४ र चौथो सेट २२–२५ ले आफ्नो पक्षमा पार्यो । शुक्रबारनै भएको महिलातर्फको खेलमा म्याग्दी र पर्वतले फाईनल स्थान सुरक्षित गरे ।
म्याग्दीले तनहुँ र पर्वतले कास्कीलाई सोझो सेटमा हराउँदै फाईनल यात्रा तय गरेका हुन् ।
कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।