पोखरा । म्याग्दी र तनहुँ पोखरामा जारी मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय भलिबल प्रतियोगिताको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालामा बिहीबार भएको पहिलो क्वाटरफाइनलमा स्याङ्गजालाई २-० को सेटमा पराजित गर्दै म्याग्दी सेमिफाइनलमा पुगेको हो ।
म्याग्दीले स्याङ्गजामाथि २५-५ र २८-२६ को सेटमा जित निकाल्दै अन्तिम चारमा पुगेको हो ।
यस्तै तनहुँले मुस्ताङलाई २५-६ र २५-९ ले हराएर सेमिफाइनलमा स्थान बनाएको छ ।
आयोजक कास्की र पर्वत पनि सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पर्वतले नवलपुरलाई २५-८ र २५-९ ले पराजित गर्यो ।
त्यस्तै आयोजक कास्कीले बाग्लुङमाथि २-१ को सेटमा जित निकाल्यो ।
पहिलो सेट १९-२५ ले गुमाएको कास्कीले त्यसपछिको सेट २५-२३ र २५-१८ ले जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
अब सेमिफाइनलमा म्याग्दी र तनहुँ तथा पर्वत र कास्की भिड्ने छन् ।
प्रतियोगिताको विजेता महिला र पुरुष टोलीले समान २–२ लाख र ट्रफी पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले १–१ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
तेस्रो हुने टोलीले समान ५० हजार प्राप्त गर्ने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट सेटर, डिफेण्डर, स्पाइकर र लिफ्टरले ५–५ हजार पाउने छन् ।