पोखरा । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको फाइनल खेल आज हुँदैछ ।
पोखरा रंगशालामा हुने पुरुषतर्फको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
आर्मी र गण्डकीबीचको उपाधि भिडन्त अपरान्ह २ बजे सुरु हुनेछ ।
आज दुबै टिम उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
लिग चरणमा गण्डकीले आर्मीलाई ३-१ ले हराएको थियो । गण्डकी उक्त जितलाई निरन्तरता दिन चाहन्छ ।
तर, आर्मी भने गण्डकीसँग लिग चरणमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।
महिलातर्फको फाइनलमा दुई विभागीय टिम एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
फाइनल खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
उपाधिका लागि कोर्ट उत्रदा दुबै जित निकाल्ने योजनामा हुनेछन् ।
लिग चरणको भेटमा पुलिस विजयी भएको थियो ।
पुलिस त्यस जितलाई कायम राख्दै च्याम्पियन बन्न चाहन्छ ।
तर, एपीएफ लिग चरणको हारको बदला लिने सोचमा हुनेछ ।
टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउने छन् ।
यस्तै उपविजेताले ७५ हजार तथा तेस्रोले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।
यस्तै सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान २०–२० हजार प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा स्पाइकर महिला तथा पुरुष खेलाडीले समान ५–५ हजार नगद प्राप्त गर्ने छन् ।